RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/६ गते
८१८ पटक

काठमाडौं : सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सिमित रहने एसियाली विकास बैंक(एडीबी)ले जनाएको छ। सन् २०२२ को भन्दा आर्थिक स्थिति खस्किने एडीबीले प्रक्षेपण गरेको हो। बैंकले सन् २०२३ मा ५ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको थियो। एडीबीले एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ५.८ प्रतिशत हुने भनेको छ।

चालु आर्थिक वर्षमा सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको प्रक्षेपण गरेको छ। विश्वको सुस्ताएको अर्थव्यवस्था, रुस–युक्रेन युद्ध, मौद्रिक कडाइ र चीनको को ‘शून्य कोभिड’ रणनीतिका लगाइएको नाकाबन्दीले नेपालको अर्थव्यवस्थालाई असर गर्ने भनिएको छ।

२०२३ मा मुद्रास्फीति ६.१ प्रतिशत हुने परिमार्जित अनुमान गरिएको छ। यस अघि एडीबीले नेपालको मुद्रास्फती ६.२ प्रतिशत हुने भनेको थियो। २०२२मा भने नेपालको मुद्रस्फीती ६.३ प्रतिशत कायम हुने उल्लेख छ। कोरोनापछि नेपालको पर्यटन लय फर्किएको प्रतिवेदनमा उल्लेख छ। पर्यटक आगमन पूर्व–महामारी स्तरमा फर्किन लागेको छ। नेपालसँगै माल्दिभ्स, आर्मेनिया, फिजी, जर्जिया र सिंगापुरमा पर्यटन आगमन बढ्दै गएको उल्लेख छ। यद्यपि तिनीहरू पूर्व–महामारीको स्तरभन्दा धेरै तल छन्।

यस प्रतिवेदनले एसियाको आर्थिक विकासको पूर्वानुमानलाई परिमार्जन गरेको छ। सन् २०२२ को ५.२ प्रतिशतबाट ४.३ प्रतिशत र  २०२३ का लागि ५.३ प्रतिशतबाट ४.९ प्रतिशतमा आर्थिक वृद्धि झर्ने भनिएको छ। पूर्वी एसिया र दक्षिण एसियामा सबैभन्दा धेरै गिरावट आएको छ। पूर्वी एसियाको वृद्धि २०२२ का लागि ४.७ प्रतिशतबाट ३.२ प्रतिशतमा परिमार्जन गरिएको छ।

यस वर्ष दक्षिण एसियाको वृद्धि अघिल्लो प्रक्षेपणमा ७.० प्रतिशतबाट ६.५ प्रतिशतमा परिमार्जन गरिएको छ र २०२३ का लागि ७.४ प्रतिशतबाट ६.५ प्रतिशतमा परिमार्जन गरिएको छ। अपेक्षितभन्दा उच्च मुद्रास्फीति र मौद्रिक कडाइ, श्रीलंकाको सार्वभौम ऋण र सन्तुलन–भुक्तानी संकटका कारणले भएको तीव्र संकुचनलाई आर्थिक वृद्धि घट्नुको कारण मानिएको छ। युक्रेनमा रूसी आक्रमणले यस क्षेत्रको अर्थतन्त्रलाई असर गरिरहेको छ, आपूर्ति अवरोध  उच्च खाद्यान्न र ऊर्जा मूल्यहरू बढ्दै मुद्रास्फीतिमा दबाब परेको प्रतिवेदनमा उल्लेख छ।

क्षेत्रीय मुद्रास्फीति प्रक्षेपण २०२२ का लागि ३.७ प्रतिशतबाट ४.५ प्रतिशत र २०२३ का लागि  ३.१ प्रतिशतबाट ४ प्रतिशतमा उक्लिने देखिएको छ। उच्च ऊर्जा र खाद्य मूल्यहरूका कारण मुल्यवृद्धि बढेको छ।

विकासोन्मुख एसियामा मुद्रास्फीतिको दबाब विश्वका अन्य ठाउँको तुलनामा कम गम्भीर रहने अपेक्षा गरिएको छ। विकासशील एसियामा मुद्रास्फीति बढिरहेको छ। यस क्षेत्रको औसत मुद्रास्फीति दर जनवरीमा ३.० प्रतिशतबाट जुलाइमा बढेर ५.३ प्रतिशत पुगेको छ। यस स्तरमा, अमेरिका र यूरो क्षेत्रलगायत विकसित अर्थतन्त्रहरू र धेरै उदीयमान अर्थतन्त्रहरू भन्दा मूल्यको दबाब बढी रहेको छ।  तर, यस वर्ष मुद्रास्फीतिमा भएको निरन्तर वृद्धिले क्षेत्रीय दरलाई २.५ प्रतिशत बिन्दुभन्दा माथि धकेलिएको भनिएको छ।

प्रतिकृया दिनुहोस्