RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/११ गते
२८५ पटक

काठमाडौं : मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो। २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो। तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस र माओवादीकै कतिपय नेतालाई एमालेले आफूतिर तानेको छ। त्यति मात्रै होइन, मधेसको राजनीतिक परिस्थिति नै बदलिएको छ। एमाले स्थानीय निर्वाचनबाट दोस्रो ठूलो दल देखिएको छ।

एमाले प्रचार विभाग सचिव गगन विष्ट उक्त प्रदेशबाट ठूलो संख्यामा आफ्नो पार्टीमा प्रवेश भइरहेको दाबी गर्छन्। मधेसवादी दलका साथै माओवादीबाट एमालेमा प्रवेश गर्ने लहर नै चलेको उनको दाबी छ। देशभर १ लाख २५ हजारभन्दा बढी एमालेमा प्रवेश भइरहेको विभागले जनाएको छ। जसमा सबैभन्दा धेरै मधेसमा रहेको जनाइएको छ। उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जिल्ला पार्टी प्रवेश गराएका छन्।

उनले लोसपा नेता उमाशंकर अगरियालाई जनकपुर पुगेर पार्टीमा स्वागत गरे। जसपाका अमृता अग्रहरी, रुही नाज, धनुषा कांग्रेसका पूर्वउपसभापति सन्तोष यादव, जसपाकै निवर्तमान प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव र डा. रिना यादव, केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्वराज्यमन्त्री अरविन्द साह पनि एमाले प्रवेश गरेका छन्। लोसपाका निवर्तमान प्रदेश सांसद प्रह्लाद गिरी, माओवादी केन्द्रका प्रदेश सदस्य शंकर महतो एमालेमा गएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक एवं पूर्वमन्त्री उमाशंकर अरगडियालाई पार्टीमा भित्र्याउँदै एमाले अध्यक्ष केपी शर्मा ओली ।

हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट प्रतिनिधिसभा सदस्य भएका वृजेशकुमार गुप्ता पनि एमालेमा गएका छन्। जसपा नेता पूर्वमन्त्री खोभारी राय, माओवादी केन्द्र केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामसिंह यादव, लोसपा महासचिव एवं गौर नगरपालिका पूर्वमेयर अजयकुमार गुप्तालाई एमालेले भिœयाएको छ। जसपाकै नेता हेमराज राईसहित चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनील राई पनि एमाले प्रवेश गरेका छन्।

एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव एमालेमा गर्न अझै धेरै लाइनमा रहेको दाबी गर्छन्। ‘धेरै लाइनमा छन्। पर्खिनुस्, दुई–चार दिनमा कति हुन्छन् ?’, नेता यादव भन्छन्।

केपी शर्मा ओली तीन वर्ष सरकारमा रहँदा मधेसमा गरेका कामका कारण प्रवेशको लहर चलेको यादव बताउँछन्। ‘केपी शर्मा ओलीको तीन वर्षको कार्यकालमा मधेसमा चमत्कारिक ढंगबाट विकासका काम भए। तर, गठबन्धनको सरकार आएपछि ती सबै ठप्प भए’, उनी भन्छन्, ‘अनि मधेसका जनतालाई लाग्यो कि काम गर्ने पार्टी त एमाले नै रहेछ। यसमा पो जानुपर्ने रहेछ। यसैबाट प्रभावित भएर धेरै एमाले प्रवेशको लहर चलेको हो’, उनी भन्छन्।

मधेसका मुद्दामा एमाले सकारात्मक रहेको उनी बताउँछन्। जन्मसिद्धका आधारमा नागरिकता पाउनुपर्ने, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता गर्ने विषयमा एमालेले नै पहिला कदम चालेको उनको दाबी छ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्