RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/१५ गते
३२१ पटक

काठमाडौं, १५ असोज । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो । नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनृुभयो । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (रु ५, १०, २०, ५० र रु १०० दरका) र ३९ अर्ब रुपैयाँ बराबर ठुला दरका (रु ५०० र १००० दरका) नोट सटही भएको उहाँको भनाई छ ।

नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरेको थियो । काठमाडौँको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको नेपालले जानकारी दिनुभयो । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका गरेका थिए ।

काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् । यसो गर्दा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताउनुभयो ।

दसैँ बिदा लगत्तै पनि साटिने

नेपाल राष्ट्र बैंकले दसैँ बिदा सकिएर कार्यालय खुलेपछि पनि नयाँ नोट साटिदिने भएको छ । तिहारको लागि पनि नेपालीले नयाँ नोटको खोजी गर्ने भएकोले नयाँ नोट साटिने उहाँले जानकारी दिनुभयो । ‘सार्वजनिक बिदा सकिएर कार्यालय खुलेको दिनदेखि नै हामीले नयाँ नोट साटिदिने व्यवस्था मिलाएका छौँ, तिहारको लागि पनि नयाँ नोटको खोजी हुने भएकोले यसो गरिएको हो,’ कार्यकारी निर्देशक नेपालले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्