RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/७/२० गते
३५३ पटक

सुर्खेत : असोजमै हिउँले सेताम्मे भएका कर्णालीका विभिन्न ठाउँमा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। हिमपातका कारण लिकप्टरबाट मात्र निर्वाचनमा कर्मचारी खटाउन सकिने डोल्पाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

हिमपातले उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे-फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर–१, २ र ३ बाहेक अन्य सबै ठाउँका मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था नभए चुनावमा कर्मचारी परिचालन गर्न कठिन हुने जानकारी दिए।

प्रजिअ अधिकारीका अनुसार ठूलो हेलिकप्टरले १५ वटा उडान भरेमा मात्र कर्मचारीलाई चिर्वाचन केन्द्रमा पुर्‍याउन सकिन्छ। उपल्लो डोल्पाका सर्वसाधारण सदरमुकाम दुनैमा अहिले झर्न नै नसकेको जानकारी उनले दिए।

निर्वाचन आयोगलाई उपल्लो डोल्पामा जान र आउन भएको समस्याका विषयमा जानकारी गराइसकेको प्रजिअ अधिकारीले बताए। तिहारमा घर गएका कर्मचारी सदरमुकाममा पुग्ने क्रम जारी छ।

डोल्पा सदरमुकामसम्म पुग्न जुफाल विमानस्थल र भेरी करिडोरको स्थल मार्ग प्रयोग गर्नुपर्ने हुन्छ। चीनको सिमानासँग जोडिएको उपल्लो डोल्पामा वर्षेनी हिमपातका कारण कात्तिकदेखि चैतसम्म यहाँका सबै गतिविधि ठप्प हुने गर्छन्।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जान १० दिनसम्म लाग्ने गर्छ। हिउँले ढाकिएका अग्ला पहाड छिचोल्नुपर्ने बाध्यता छ। चिसो मौसममा प्रहरी चौकीसमेत दुनैमा नै झारिँदै आएको छ।

उपल्लो डोल्पामा रहेका ३० ओटा मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील भएकाले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको अधिकारीले बताए।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि डोल्पामा ६६ वटा स्थाई र २ वटा अस्थाई गरेर ६८ ओटा मतदान केन्द्र रहेका छन्। डोल्पाको मतदाता संख्या २२ हजार ७ सय ७४ रहेको छ।

उत्तरी सीमा चीनसँग जोडिएका उपल्लो डोल्पाका केही मतदान केन्द्रमा विगतका निर्वाचनमा मतदाता आफूले मतदान गर्न नपाउने तथा वारेसनामा लिएर १/२ जनाले मात्र मतदान गर्ने गरेको हल्ला व्यापक भैरहेको वेला यसलाई रोक्न निर्वाचन टोलीले गम्भीर रुपमा विश्लेषण गरिरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताए।

www.thahakhabar.com

प्रतिकृया दिनुहोस्