RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/४ गते
३६८ पटक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यतिबेला असफल भएको, कामै गर्न नसकेको, संसदीय दलको नेतृत्व गतिलो ढंगमा गर्न नसकेको, विकास निर्माणमा कमजोर, भ्रष्टाचार बढेको जस्ता आरोपहरु सत्तापक्षीय संसदहरुबाटै खेपिरहेका छन् । कर्णाली प्रदेश सभाको ४० सदस्यीय प्रदेश सभामा ३३ सीट प्राप्त गरेको शक्तिशाली सरकार सत्तापक्षीय संसदकै नजरमा के निरीह बनेकै हो त ? के अब सरकार फेरबदल हुन्छ ? किन विकास गर्न सकिएन ? यो सरकारले कामै गर्न नसकेको आरोप तपाइकै पार्टीले लगाइरहेको बेला बिकल्प किन दिनु हुन्न ? जस्ता विभिन्न पछिल्ला शन्दर्भमा मुख्यमन्त्री शाहीसँग नयाँ नेपाल दैनिकका कार्यकारी सम्पादक शेरबहादुर थापाले कुराकानी गरेका छन्, प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश । साभार गरेका छौ

सरकार फेरबदलको हल्ला बजार भरी चलेको छ,पटक पटक गरेर यस्ता चर्चाहरु किन भैरहन्छन ?

सरकार फेरबदल हुने, मन्त्री हेरफेर हुने भन्ने हल्ला कर्णालीका लागि नौलो होइन । सामाजिक सञ्जाल र विभिन्न मिडियाले उहिल्यै अविश्वासको प्रस्ताव आएको, सरकार ढल्दै भन्ने प्रचार पनि गरिरहेकै हुन । मलाई यो पनि त्यहि सिलसिलाको एक चरण नै होला जस्तो लाग्छ । सरकार फेरबदल हुने वा जारी रहने कुरा यहाँको प्रदेश सभाले मात्रै चाहेर हुने कुरा होइन । यहा छलफल गरेर हुने कुरा होइन ।

विगतमा पार्टी एकता नहुँदा नेकपा एमालेका २० जना सदस्यहरु निर्वाचित भएर आउनु भएको थियो । नेकपा माओवादीबाट हामी १३ जना आएको सबैलाई जानकारी नै छ तर पनि केन्द्रीय राजनीतिक निर्णयका आधारमा पूर्व माओवादीले सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम म मुख्यमन्त्री भएको हुँ । यो कुरा छर्लंगै छ ।
सरकार फेरबदल हुने कुरा वा पूर्व एमालेको तर्फबाट मुख्यमन्त्री हुने भन्ने कुरामा म अहिले पनि विश्वस्त छैन । महेन्द्र बहादुर शाहीले सरकार चलाउन सकेन भने पनि पूर्व माओवादीकै अर्को व्यक्ति कर्णालीमा मुख्यमन्त्री होला । अहिले प्रचार गरिएजस्तो कुनै अर्को व्यक्ति होलान भन्ने छैन । सरकारको नेतृत्वको कुरा राजनीतिक सहमतिको कुरा हो । यदि सबै प्रदे्श सरकार हेरफेर गर्ने निष्कर्षमा केन्द्र पुग्यो भने कर्णालीमा पनि हेरफेर हुन सक्छ तर अहिलेको अवस्थामा सरकार हेरफेर बुने कुरा सम्भव पनि छैन ।

अन्य प्रदेशमा विकास बारे बहस प्राथमिकतामा परिरहेको हुन्छ तर कर्णालीमा सरकार फेरबदल कै कुरा किन उठिरहन्छ ?
कर्णालीको कल्चर हो यो । प्रचारमा आएका जे जति समस्या छन नयाँ होइनन् । पुरानै संस्कृति हो । चलन हो । दिनभरि छलफल गर्ने साँझ घर जाँदा माइन्यूट च्यातेर जाने प्रचलन उहिले गाविस र जिविसका बैठकमा हुन्थ्ये । त्यस्तो नगरेसम्म मजा नमान्नेहरु अहिले यस्तै गरौं कि भनेर लागिरहेको मैले महसुस गरेको छु ।

बाटो बनेन भनेर गाली गर्ने परम्परा बसेको मेरो अनुभव छ । के कारणले बाटो बनेन भन्ने चिन्ता हो भने बाटो बनाउन तिर लाग्नु प¥यो । जस्तो ढुंगा आएर हो की जमिन कमजोर भएर हो की भन्ने तीर अनुसन्धान गर्न आवश्यक छ । आवश्यक सामाग्री अभाव, कामदार नभएर हो की भनेर बुझ्ने र अपुगता कहाँ निर हो पुगाई दिने काम गर्नुपर्छ भन्ने चिन्ता हुनुपर्छ । बाटो नबनाउने नियत भएको व्यक्तिले के गर्छ भने सबैभन्दा बढी बाटोको चिन्ता भएजस्तो गरेर प्रचार प्रसार गर्ने, नाटक गर्ने तर असल नियत बाटो बन्न नदिने छ । बाटो बन्न नदिने असली नियत हो । यो सांस्कृतिक समस्या नै हो । काम भएन भनेर प्रचार गर्ने तर गर्न खोजेको कामलाई रोक्ने कर्णालीको प्रचलनले समस्या पारेको हो ।

जताततै समस्या नै समस्या देख्ने हो भने यो सरकारलाई असफल सरकार भनेर भन्दा के फरक पर्छ र ?
त्यो तपाईको नजरमा के गरे सफल तथा के गरे असफल भइन्छ भन्ने कुरा हो । देशमा अहिले सात वटा प्रदेश सरकार छन् । कुन सरकार सफल भएको छ ? सात प्रदेशमा सबैभन्दा सफल भएको प्रदेश को हो ? यति किलोमिटर बाटो खन्यो भनेर कसले भनेको छ ? खाली पैसा सक्यो भन्ने मात्रै सफलता हो र ? पैसा त जसले जसरी पनि खर्च गर्न सक्छन त । तर पणिाम के आयो ? के दियो ? कति सडक बन्यो ? भवन, सिंचाई कति भयो ? कति लगानी भयो ? सामाजिक क्षेत्रमा के परिवर्तन आयो ? त्यो हिसाब गर्नुपर्छ ।
कर्णालीका १७ लाख ७० हजार बढी जनताको दुर्घटना वीमा गर्न सफल भयौं नि । क्रिया खर्च जुटाउन नसक्ने कर्णालीका जनताले दुइ लाख पाउने कुरा सामान्य हो र ? छोरीहरुको स्थिति सुधार गर्न कार्यक्रम ल्यायौं । अहिले छोरीमाथि हुने हिंसा आर्थिक समस्याका कारण हो भन्दै त्यसलाई न्यून गर्न सकिन्छ कि भनेर लाग्यौं । छोरीले आर्थिक रुपमा कमजोर बनेको महसुस नगरुन भनेर छोरीको खाता खोलेका छौं । सक्षम, आँटीलो साहसिक छोरी बनाउन भनेर यो काम गरियो । अरु कुन सरकारले गरेको छ ? दुइ सय पचास भन्दा बढी छोरी बुहारीलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षामा लगानी गरिदिएका छौं । के यी सामान्य काम हुन त ?

असामान्य काम गरेको तपाई नेतृत्वको सरकारलाई किन काम गर्न सकेन भनेर भन्दै हिडेका होलान भन्ने लाग्दैन तपाईलाई ?
मैले भनिहालें नि । जनताका अपेक्षा एकैपटक पुरा गर्न सकिदैन । ती अपेक्षा पुरा गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मात्रै पनि गर्न सक्दैन । त्यसकालागि सबैको उत्तिकै भूमिका आवश्यक छ । जस्तो , कर्णाली बनाउने इच्छा हो भने प्रदेशमा बजेट बढि ल्याउन सदनमा खोइ बोलेको ? बोल्नु प¥यो नि ? राष्ट्रिय गौरवका आयोजना कर्णालीमा ल्याउनुपर्छ भनेर बोलेको खोइ ? बोल्नु प¥यो नि ? ल्याउनुपरयो नि योजना हाल्नु पर्यो नि । अब त्यता पट्टी नजाने खाली सरकारले यो गरेन, उसो गरेन भनेर मात्र भन्नु भनेको पूर्वाग्रही मानसिकता हो जस्तो मलाई लाग्छ ।
हामीले काम गरेका छौं । धेरै सडकको टेण्डर आव्हान भइसकेको छ । विकास निर्माणले तीव्रता पाएका छन् । यहाँहरुले देख्नु भएकै त छ नी, अभावै अभावका बीचमा सरकारले संरचना निर्माण गरेको छ । गाउँ गाउँमा खानेपानी, विजुली वत्ति पु¥याउने प्रयास गरेको छ । विकास भन्ने कुरा एकै वर्षमा, दुइ वर्षमा देखिदैन । हामी विकाससँगै संघीय संरचनालाई शासन प्रणालीलाई मजबुत बनाउँदै हिडिरहेका छौं ।

यो सरकार नेकपाको हो की कुनै गुटको हो ? भोली जवाफ दिदा जनतालाई कस्तो जवाफ दिनुहुन्छ ?

यो सरकार नेकपाको नै हो । नेकपाको सरकार भएको हुनाले सरकार सञ्चालनका लागि नेकपाकै पार्टी सदस्यबाट प्रतिनिधिहरु पठाइएका छन् भने सरकार त नेकपाको हो नि । यहाँ कोही व्यक्ति सफल र असफल भयो भन्ने भन्दा पनि नेकपा सफल बनाउने हो । कसरी सफल बनाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्न आवश्यक छ । योजनामा कसरी ध्यान दिने, कार्यान्वयनमा कसरी अघि बढने, व्यवस्थापनमा सहयोग कसरी गर्ने ? भन्ने कुरा सोचेर आवश्यक सुझाव सल्लाह पार्टीमार्फत, संसदीय दलमार्फत, व्यक्तिगत हिसाबले दिने हो ।

सरकार नेकपाको हो भने नेकपाकै सांसदहरु सरकारले काम गर्न सकेन भनेर बाहिर किन बोल्छन ?

हामी अहिले अत्यन्तै उदारवादी अवस्थामा छौं । कसैलाई कुनै कुरा बोल्न रोक लगाएको अवस्था छैन । तर तपाईले भनेजस्तै प्रदेश सभा सदस्यले खाली यो भएन, त्यो भएन भनेर अहिले बढि नै बाहिर बोल्ने काम भएको साँचो हो । यसले उहाँहरुको स्तरको बारेमा प्रश्न चिन्ह पनि उठेको छ । आत्मालोचना पनि उहाँहरुले गर्नु भएको छ । यो संसदीय प्रक्रिया नबुझेको हो की पद्धती नजानेको हो की, अलिकति कर्णालीमा फरक भयो भन्ने बुझाई बाहिर पर्न गएको छ । किन त्यस्तो गरेका हुन ? त्यो त आफ्नो दलभित्र गरेपनि हुने ? दलमा राखेर व्यापक छलफल, सिधै दलको नेतालाई सरकारको नेतृत्वलाई सिधैं भन्न सकिने कुरा हो । यसरी जाने पद्धती नै होइन । दलको विधानले यस्तो भन्दैन ।

यदि तपाइको दलको विधान छ भने त्यसरी बोल्ने सांसदलाई कारवाही किन गर्नुहुन्न ?

हामीले संविधानलाई, पार्टीको विधान, संसदीय दलको विधान, आवश्यक निर्देशिकालाई मान्न पर्छ । त्यसलाई आत्मसाथ गर्नपर्छ र अघि बढनुपर्छ । यसको कार्यान्वयनमा कमजोरी भएका छन् । यहि हिसाबमा अब सदन र सरकार चल्न सक्दैन । संसदीय समिति पनि चल्न सक्ैनन् । अनुशासन पालना गराउन कडाई हुन्छ । सदन, समिति र सरकारलाई व्यवस्थित, प्रभावकारी बनाउन जरुरी छ । यो आवश्यकता छ । यहि स्थितिमा सरकार, सदन, समितिपनि अगाडी बढन जरुरी छ । राम्रो पहलदमी लिने ढंगबाट हामीले अघि बढनुको विकल्प छैन ।
पार्टीको विधान विपरित गएको पाइएको खण्डमा कारवाहीको दायरामा ल्याउँछु । विधी र विधान विपरित काम गरे कारवाही हुन्छ । अनुशासनमा ल्याउनैपर्छ । अराजकता सिर्जना हुन दिनै हुन्न । उनीहरुलाई अनुशासनमा ल्याउन म लाग्छु । सरकार, संसद, दल व्यवस्थापन गर्न नयाँ ढंगबाट जान जरुरी छ । प्रदेश सरकार लोकतान्त्रिक भएका कारण जे पायो त्यहि बोल्ने काम भएको साँचो हो । त्यस मानेमा हामी उदार भएकै हौं । नयाँ व्यवस्था हो । संरचना व्यवस्थित बनेका छैनन्, कर्मचारी व्यवस्थापन भएको छैन । केहि एकाध जना संघमा भएका सांसदहरु प्रदेश सभामा छन् । अरु नयाँ छन् । सिक्दैछन्, सिक्दै जाँदा सुधार र व्यवस्थापन हुँँदै जाला भन्ने सदासयता र विश्वास हो । अब दुइ वर्ष वितिसक्यो । दुइ वर्ष पछि पनि एक पछि अर्को संसद व्यवस्थित हुने, सम्मानित हुने, संसदको गरिमा नराख्ने, झन समस्या थपिदै जाने हो भने अब दलको नेताले हस्तक्षेप नै गर्छ । त्यसको विकल्प पनि छैन ।

युद्धमा सफल कमाण्डर सरकार सञ्चालनमा असफल भइरहेको भन्ने लागेको छ छैन ?
अहँ लाग्दैन । सफलता के मा भन्ने ? पार्टीको एउटा विशेषता के छ भने सानो आफ्नो गुट बनाउन सकेको खण्डमा त्यसमा सफलता देख्ने चलन छ । सक्षमता भनेको गुट बनाउने भन्ने छ त्यो होइन, त्यो एकदम गलत छ । सरकारको नेतृत्व मैले गर्नुको नाताले मैले जनताले अपेक्षा अनुसारको काम गर्न नसके हौंला । भोली ती कारणहरु हामी जनतामा स्पष्ट पारौंला । जनतालाई भनौंला ।
जनताका चाहना, आवश्यकता धेरै छ । ती सबै आवश्यकता एकैपटक परिपुर्ति होउन भन्ने जनता चाहन्छन् । जनताको चाहना छिटो विकास होस भन्ने हो तर हाम्रो आत्मगत पक्षको विकास होस । मान्छेको क्षमता र आत्मगत पक्षबीच द्धन्द्ध हुनु स्वभाविकै हो । हामीले यसबीचमा केहि नगरेको भन्ने होइन । नीति तथा कार्यक्रम, बजेट सबै हेर्ने हो भने सबै खत्तमै खत्तम भन्ने छैन कहिँ एकाध गल्ती वा त्रुटि हुन सक्छन् । त्यसलाई सच्याउनु पर्छ भन्यौं पाठ सिक्दै जान्छौं भन्यौं । त्यो सिकाई हो । नदोहोर्याएर अघि बढिरहेका छौं ।

किन असफल भनिरहेका होलान ? गुट नबनाएकै कारण होला त ?
अहिले मलाई के लाग्छ भने मेरो ठाउँमा अरु कोही भइदिएको भए गुट जन्माउँथे होला । तर अहिलेको मुख्यमन्त्री दलका नेताले गुट बनाउँदैन । दलको बैठकमा मैले भनें, छन सबै मेरा छन् आफ्नै लाग्छन् तर छैनन मेरा कोही छैनन जस्तो लाग्छ । सबैले विरोध गर्दै जाँदा, आलोचना गर्दै जाँदा त्यस्तो लाग्छ । धेरै मान्छेले आफनो वरिपरि वकिलहरु राखेका हुन्छन् । आफ्ना बारेमा वकालत गर्ने, लेख्ने, धेरै जना हाम्रा पार्टीका नेताहरुले वकिल राख्छन् । उनीहरुका बारेमा वकालत गरिदिनुपर्ने तरमैले जीवनमा वकिले राखेंन । सबैलाई समान ढंगले व्यवहार गर्दै आइरहेको छु ।
अहिले म बाट सन्तुष्ट छन त सबै सन्तुष्ट नै छन् । छैनन भने कोही पनि सन्तुष्ट छैनन । तपाई बुझ्नुस । मैले सबैलाई गर्ने समान व्यवहार हो । काम कारवाही निर्णय संस्थागत गर्ने हो । त्यसैले मेरा नीजि वकिल त कोही पनि हुँदैनन् । सबैलाई दिने समान स्थान हो । यो मेरो व्यक्तिगत व्यवहार हो । हिजो माओवादी पार्टीमा हुँदा पनि त्यहि गरें । मैले गुट बनाइन, सबैलाई मिलाएर लैजाने प्रयास गरें । अहिले पनि पार्टी एकता भइसकेपछि मैले हिजोको जस्तो त्यहि गरेको छु । मैले यहाँको नेतृत्व लिइसकेपछि एक जना मान्छे नबनाउनु मेरो सफलता हो । एक जना पनि मैले गुटमा ल्याईन, गुट बनाइन । नेपालको राजनीतिमा मलाई मन नपर्ने भनेकै यो गुटगत चरित्र हो ।

केहि साथीहरुको म प्रति धेरै आशा र अपेक्षा छन् । ती आशा र अपेक्षा पुरा गर्न नसकेको खण्डमा कि आँशु झार्छन की विरोध गर्छन । धेरै विकेन्द्रीत हुने, कसैलाई भित्तामा पु¥याउने, कसैलाई काखा र पाखामा राखेर काम गर्न म चाहँदैन । सबैलाई समेटेर लैजान्छु ।

गुट नबनाएसम्म समाप्त पारिदिन्छन ? तपाइ कसरी बच्नुहुन्छ ?
जसले गुट बनाउँछ नी त्यो एक गुटमा हुन्छ । गुटमा नभएको व्यक्ति सबैको प्यारो हुन्छ । सबैको बलै हुन्छ । मुख्य कुरा काम के गरियो भन्ने हुन्छ । यदि तपाई निःस्वार्थ हुनुहुन्छ भने गुमाउनुको कुनै पीडा हुँदैन । गुमाृउने कुरामा सहज हुुनुहुन्छ । पार्टीलाई एक ठाउँमा ल्याउन मुख्यमन्त्री पद नै जान्छ भनेपनि मेरो गुनासो केहि हुँदैन । मुख्यमन्त्री हुनका लागि एक बलियो गुट बनाएर जानुपर्छ भन्ने मैले मान्यता राख्दिन । बेइमान व्यक्तिको राजनीति एक पटकका लागि हुन्छ भने इमान्दार व्यक्तिको राजनीति सधैं सफल हुन्छ । तत्काल केहि गुमाउँदा केहि हुँदैन । भोली उसले ठूलो अवसर पाउन सक्छ ।

गुट बनाउँदै जाने हो भने नेकपा किन बनाउँने ? हामीलाई विभाजित मानसिकतामा बसेको जनशक्तिलाई एक ठाउँमा ल्याउन सक्ने त्यस्तो प्रकारको व्यक्तिको खाँचो छ । त्यस्ता नेताको आवश्यकता छ । सबैलाई कन्भिन्स गरेर, चित्त बुझाउनेलाई नमान्ने भन्ने कुरा हुँदैन । खुला र स्पष्ट हुने, छलछाम र षडयन्त्र नगरेको खण्डमा नेकपालाई एकात्मक बनाउन सकिन्छ । निस्वार्थीको खाँचो, गुमाएर पार्टी बनाउनेहरुको खाँचो छ ।
पद गुमाउन नचाहने, प्राप्त गर्न मात्रै चाहने, बरु धम्काएर हुन्छ की घुर्की मात्रै दिएर हुन्छ की साना गुट नै बनाएर भएपनि पद पाउन मरिहत्ते गर्ने काम इमान्दार होइन । त्यस्ताका पछि केहिले वकालत त गर्लान तर उ सँग कहिल्यै राजनीतिक जीवन हुँदैन ।

यो दुइ वर्ष के गर्नुभयो ? सरकारका उपलब्धी के हुन् ?
हामीले आधार तयार गरेका छों । सबैभन्दा पहिले संरचना तयार गरेका छौं । आवश्यक कर्मचारीको व्यवस्थापन गरेका छौं । कर्मचारीको दरवन्दी कायम गरेका छौं । धेरै योजनाहरु, कर्णाली बदल्ने मेघा योजनाहरु सुर्खेत हिल्सा फास्ट ट्रयाक, विमानस्थल, रिंगरोड, चौविसै निर्वाचन क्षेत्रमा आवश्यक पुलहरुको डिपीआर खानेपानी, सिंचाई, अन्य भवनहरुको डिपीआर बनाइसकेका छौं । टेण्डर भइसकेका छन् । कोही आठ महिनामा, चौबीस महिनामा, कोही दुइ वर्षमा पुरा हुनेछन् । कानून निर्माण गरेका छौं । यो पनि आधार नै हो । पाँच वर्षपछि मात्रै काम देखिन्छ । सुन्तलाको बोट हुर्किन पनि पाँच वर्ष लाग्ला नि त्यो प्रक्रिया हुन्छ नि त । सरकारको आयु कम छ छिटो सुन्तला फल्नुपर्छ भनेर त सुन्तला फल्दैन नि त ।
हाइड्रोपावर बनायौं भने कम्तिमा पाँच वर्ष लाग्ला । अर्को कुरा सरकारले अहिले प्रयोगमा ल्याइरहेको सार्वजनिक खरिद ऐनलाई परिवर्तन गर्न आवश्यक छ ।

अपेक्षीत विकास गर्न के ले रोकेको छ कर्णालीमा ?

कर्णालकिो विकास गर्न सबैभन्दा पहिलो कुरा भुगोलले रोकेको छ । हाम्रो भुगोल जटिल छ । हिउँ पर्ने भएका कारण बाहै्र महिना काम गराउने वातावरण छैन । सार्वजनिक खरिद नियमावली पनि पुरानै ढर्राको छ । अहिले जमाना इविडिंगमा गइसकेपनि पुरानै पत्र पठाउने जस्तै दुइ महिना ठेक्का सदर गर्ने लाग्छ यसलाई सुधार गर्न आवश्यक छ । निर्माण व्यवसायीको सम्पति, साधन कति छन्, त्यो हेर्ने अति त्यसको आधारमा काम गर्न दिनुपर्छ । त्यो पनि एक कम्पनीलाई एक काम मात्रै गर्न दिने व्यवस्था गर्नुपर्छ । एक जनाले एक सय भन्दा बढी योजना होल्ड गरेको पाइएको छ । हरेक योजजनबाट पेस्की लिने र काम नगर्ने प्रविृत्ति मौलाएको छ । उसले म्याद थप मात्रै गराउने गरेका छन् । आठ वर्ष दश वर्ष यस्तो अवस्था छ । अनुगमनको व्यवस्थामा कडाई गर्न आवश्यक छ । परिवर्तन कागजमा भन्दा दिमागमा सोचमा आउनुपर्छ । व्यक्ति नबदिलने, शासन बदलिने प्रथा कायम भएका कारण यस्तो भएको हो । मानसिकतामा परिवर्तन आउन सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस्