RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/४ गते
१००५ पटक

विराटनगर-विश्वभर फैलिएको कोरोना भाइरसको असर औद्योगिक क्षेत्रमा पनि देखिन थालेको छ । कोरोनाको सन्त्रासकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ ।

मनोवैज्ञानिक त्रासका कारण मजदुर काममा नआउँदा र कच्चा पदार्थसमेत अभाव हुँदा उत्पादनमा ह्रास आएको हो । २० प्रतिशतभन्दा बढी मजदुर काममा आउन छाडेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । “चारैतिर कोरोनाको मनोवैज्ञानिक त्रास फैलएको छ,” घिमिरेले भने, “जसका कारण मजदुरहरू आउनै छाडेका छन् । अझ कच्चापदार्थको समेत अभाव हुन थालेको छ ।”

यो क्षेत्रमा साना ठूलो गरी करिब ६ सय उद्योग सञ्चालनमा छन् । ती उद्योगमा झण्डै १ लाख २५ हजारले काम गर्दछन् । चीनबाट कच्चापदार्थ आउन छाडेको छ । यो क्षेत्रका धेरै उद्योगले भारतपछि सबैभन्दा बढी चीनबाट कच्चा पदार्थ आयात गर्दछन् । कोरोनाको असर औद्योगिक क्षेत्रमा देखिन सुरु भइसकेको घिमिरेले बताए ।

उनले तत्कालै सरकारले निकट भविष्यमा आइपर्ने समस्यासँग जुध्न तयारी गर्नुपर्नेमा जोड दिए । अमेरिका, युरोप, चीन, भारतलगायत विश्वका शक्तिशाली राष्ट्रहरूमा समेत आर्थिक संकट देखिएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने उनको भनाइ थियो ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्