RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
६७० पटक

काठमाडौँ । सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको छ । बजारमा ग्यासको माग बढेपछि आपूर्ति सहज गर्न कोटा बढाएर ४५ हजार पु¥याइएको छ । निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ । तर, उपभोक्ताले ग्यास सहजै पाउन सकेका छैनन् ।

व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्यास हुँदा हुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । महर्जनले भने, ‘सरकारको बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले ग्यासमा कालोबजारी थालेका छन् । विश्वमै कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा बजारमा अहिले आएको अराजकतालाई रोक्न सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ मा टेकेर अनुगमन गर्दा पुग्दैन । कालोबजारी ऐन २०४२ मा टेकेर अनुगमन हुनुपर्छ । बजार अनुगमनमा वाणिज्य विभाग र मन्त्रालय मात्र नभएर जिल्ला प्रसाशनलाई पनि सशक्त गराउनुपर्छ ।’राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्