RaraNews

देविराम देवकोटा प्रकाशित : २०७६/१२/८ गते
३९४ पटक
देविराम देवकोटा

यतिवेला विश्वसमुदायको अस्तित्वमाथि कोरोना भाइरसको आक्रमणले धावा बोलिरहेको छ । विश्वका सरकार प्रमुखहरुले संकटकाल घोषणा गर्दै कोरानाबाट बच्न आह्वान गरिरहेका छन् । शुक्रवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा वलीले कोरोनावाट जोगाउन राष्ट्रको नाममा संबोधन गर्ने तयारी गर्दै थिए भने सुर्खेतमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाइरस बिरुद्ध लड्न प्रदेश विपद् व्यवस्थापन परिषदको बैठक आयोजना गरिरहेका थिए । तर ‘कुराकानी एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झै कर्णाली प्रदेशका एक प्रतिष्ठित राजनितिज्ञ एवं सांसद यामलाल कँडेल भने पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफू मुख्यमन्त्री बन्न नपाएको असन्तुष्टी पत्रकारहरुसामु पोखिरहेका थिए । उनका कुरा सुनिरहँदा यस्तो लाग्थ्यो,कोरोनाले विश्व मानव समुदायको अस्तिस्वमाथि नै धावा बोलिरहेको अवश्थामा उनी मुख्यमन्त्री महेन्द्रवहादुर शाहीमाथि पटक पटक धावा बोलिरहेका थिए । उनका कुरा सुनिरहँदा म एक मनुवालाई फ्रान्सको राजा निरोको कथा झल्झली याद आयो । ‘रोम जलिरहेछ, निरो बासुरी बजाइरहेछ ।’ निरोलाई शहर जलेको पिडा थिएन बरु बासुरी बजाउनमै मस्ती आउथ्यो रे । त्यस्तै कँडेललाई कोरोना भाईरसको डर थिएन मुख्यमन्त्री बन्न नपाएको भोक थियो, झोक थियो, हुटहुटी थियो र थियो तिब्र असन्तुष्टी । संघीय र प्रदेश सभाको चुवावका बेला उनलाई लागेको थियो म जत्तिको यो प्रदेशको नेता अरु को नै छ र ? म नै हुन्छु मुख्यमन्त्री र म नै सर्बेसर्बा हो भन्ने । तर समयक्रमले उनको यो सपना राजनीतिक क्रमभंगताले एक्कै झोक्कामा बालुवामा मिसाईदियो । अनि उनलाई भयो फसाद । अहिले उनी फेरि बालुवामा मिसिएको सपना कोरोनाको त्रासमा पनि उठाइरहे छन् । पत्रकार भेटघाटमा यही कुराको झल्को देखिन्थ्यो । मलाई यस्तै अनुभूति भईरहेको थियो ।

पत्रकार भेटघाटको पृष्ठभूमि

कोरोनाले सारा विश्व मानव समुदायमा संकट निम्त्याइ रहेका बेला एउटा जनताबाट चुनिएका प्रतिनिधि मुख्यमन्त्री बन्ने योजना बुनिरहेका छन् भन्ने रिपोर्ट पाइसकेपछि उनीप्रति लक्षित केही समाचारहरु सार्बजनिक भए । सार्बजनिक समाचार मध्ये ‘राजनैतिक कोरोनाले ग्रसित कर्णाली प्रदेश सरकार’ भन्ने शिर्षकको मेरो विश्लेषण थियो । यो विश्लेषण एउटा प्रतिष्ठित अनलाईनमा सार्बजनिक भएको २४ घण्टा नबित्दै कँडेलले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेको यो २ बर्षपछि रैछ । उनी प्रेसमैत्री नेता होइनन् भन्ने कुरा २ बर्षपछि पहिलो पटक गरिएको पत्रकार सम्मेलनबाटै थाहा हुन्छ । तर मेरो विश्लेषण छापिएको २४ घण्टा नबित्दै उनी पत्रकार सम्मेलन आयोजना गर्न बाध्य भए । यसबाट के पुष्टी हुन्छ भने प्रेस कति शक्तिशाली रहेछ भन्ने कुरा ती नेताले बल्ल थाहा पाए । अन्यथा उनले पत्रकारहरुको फोन नै उठाउँदैनन् भन्ने गुनासो छ ।

कोरोनाको त्रासदिमा छोरो

पत्रकार सम्मेलनमा जाने कि नजाने भन्नेमा म दोधारमा थिएँ । तर केही साथीहरुको आग्रहलाई स्वीकार्दै म पत्रकार सम्मेलनमा गएँ । पत्रकार सम्मेलनको बीचैमा काठमाडौंमा रहेकी मेरी श्रीमतीको फोन आयो, मैले उठाएँ र भने, ‘म कार्यक्रममा छु पछि फोन गर्नु ।’ तर उनले मानिनन् र एक पटक बाबुसंग कुरा गर्नु भन्दै फोन दिइन् । छोराले तोतेबोली बोल्दै भन्यो,’बाबा मलाई कोरानाको डर लाग्छ प्लीज मलाई छिटो लिन आउनु न । प्लीज बाबा प्लीज ।’ बाबुको यो तोतेबोलीले मलाई निक्कै भावुक बनायो । चसक्क मुटु घोच्यो । सानो स्वरमा हुन्छ बाबु म आउँछु भन्दै फोन काटे । तर उसले पटक पटक फोन गरिरह्यो मैले साइलेन्टमा राखेर यामलाल कँडेलको पत्रकार सम्मेलनमा भाग लिइरहेँ । छोरोको पीडामिश्रीत तोतेबोलीमा कोरोना भाइरसको कहरले मलाई गाँजीरहेको थियो तर माननीय यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने रहर जागिरहेको थियो र बिभिन्न कोणबाट अभिव्यक्ति दिइरहेका थिएँ । उनी भन्दै थिए,’म मुख्यमन्त्री बन्ने प्रयाप्त संख्या छ र यसबारे पार्टीका शिर्ष नेताहरुसंग छलफल भइरहेको छ।’ मैले सोचेँ ‘कोरोनाको कहरमा मुख्यमन्त्री बन्ने रहर ।’

कँडेलको अभिव्यक्तिले पनि मलाई झन भावुक बनायो । मैले प्रश्न सोध्न पनि डर मान्नुपर्ने स्थितिको सृजना भयो । कारण थियो– आफ्ना अभिव्यक्ति सार्बजनिक गर्ने क्रममा पत्रकारीता पेशा जोखिममा छ भन्दै पत्रकारमाथि हुने आक्रमणको उनको संकेत । नभन्दै आफ्नो अभिव्यक्तिको अन्त्यमा उनले भने,’तपाई नेकपाकै पत्रकार भन्ने साथीहरु अँझै नेता भन्ने साथीहरु अहिले त प्रचारकर्ता हुनुहुन्छ भोली यस्तै हो भने प्रचारकर्ता पनि हुन नपाएर घरमै थन्किनुपर्ने अवश्था हुनुपर्ला ख्याल गर्नुहोस् ।’यो उनको धम्की थियो । यो वाक्य सुन्दा मलाई यस्तो लाग्यो, उनीप्रति लक्षित गरि कुनै कुरा लेख्न र बोल्नै हुन्न कि क्या हो ?

कँडेलको स्वीकारोक्ति

पत्रकार सम्मेलनमा उनले गरेका अभिव्यक्तिबाट प्रष्टै हुन्छ, जे संचारमाध्यममा उनीप्रति लक्षित समाचार सार्बजनिक भएँ,ती सहि थिए र यथार्थ थिए । कँडेल सत्तारुढ नेकपाभित्र यो क्षेत्रका एक संभावना बोकेका नेता हुन् भन्ने कुरामा दुइमत छैन ।तर उनीभित्र आफू मुख्यमन्त्री बन्न नपाएकोमा तिब्र असन्तुष्टी छ । उनको चाहाना मुख्यमन्त्री बन्ने चाहाना हिजो पनि थियो,आज पनि छ र भोली पनि छ,त्यसका लागि उनको प्रयास अन्तिमसम्म हुने उनकै अभिव्यक्तिले पुष्टी हुन्छ । आखिर यही कुरा उनले पत्रकार सम्मेलनमा गरे । जे भएको थियो, त्यही कुरा पत्रकारहरुले सार्बजनिक गर्दा उनलाई किन टाउको दुखाईको बिषय बन्यो । मैले बुझिन ।

कँडेललाई सुझाव

२०४८ सालपछि  बनेका कुनै पनि सरकार ५ बर्ष टिकेनन् । दुइपार्टी मिलेर ५ बर्ष स्थिर सरकार बनाउने भनेर एक भएका हुन् । यो कुरा कँडेललाई राम्रोसंग हेक्का छ । सरकारको नेतृत्व गर्ने आफ्नै पार्टीका साथीहरुलाई कँडेलको अभिभावकत्व चाहिएको हो यतिबेला । कोरानाबाट प्रताडितलाई उद्धार गर्नुपर्ने बेला गर्नेले के गरे कर्णालीले के पायो भन्दै प्रश्न गर्नु एउटा राजनीतिज्ञको लागि सोभनिय हुँदैन । कँडेल मुख्यमन्त्री भएर कर्णालीको अहिले नै कायापलट हुने हो भने हाम्रो भन्नु केही छैन । कँडेल मुख्यमन्त्री हुने बित्तिकै कर्णाली सिंगापुर,स्वीटजरल्याण्ड बन्ने त होइन होला पक्कै । पद नै चाहिएको हो भने धैर्य गर्दा धेरै बेस हुन्छ कँडेलले ।

अर्को कुरा कर्णाली प्रदेशमा पूर्व एमालेको २० सिट एक्लै आएको होइन। दुइपार्टीको चुनावी मोर्चा बनेर आएको हो । कँडेल अभिव्यक्ति एमालेको सिट एक्लै आएको जस्तो गरि बकबकाउने खालको छ । यदि कँडेललाई यो भ्रम छ भने यसबाट मुक्त हुँदा नै राम्रो होला ।

मुख्यमन्त्री शाहीका थुप्रै कमजोरी होलान । उनले स्वीकार स्वीकार गर्न र सच्याउने तत्परता देखाउनै पर्छ । यसको अर्थ शाहीको कमजोरीलाई देखाउदै आफू मुख्यमन्त्री बन्नै पर्ने कँडेलको योजना ‘चोक्टा खान गएकी …… झोलमा डुबेर ……… ‘को अवश्थामा नपुगोस् ।

र अन्त्यमा कोरोनाको कहरमा पनि मुख्यमन्त्री बन्ने रहर अन्त्य गर्दा नै श्रेयस्कर हुन्छ । माक्र्सवादी विचारबाट प्रशिक्षित राजनीतिज्ञले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मुख्यमन्त्री ताक्ने होइन कोरानाबाट बच्न मास्क बितरण गर्ने योजना बनाउँदा धेरै राम्रो होला । अहिलेको समयको माग यही हो । म बिना पृथ्वी घुम्दैन भन्ने सोचले ‘आचिमा ढुंगा हान्दा उछिट्टएको छिटा आफ्नै अनुहारमा नहोस’ । मलाई लेख्न कसैले प्रेरित गर्दैन । मैले जे देख्यो त्यही लेख्नु पत्रकारको ‘लजिकल इथिक्स’ हो भन्ने ठान्छु । लेख्न र भन्नबाट डराउने बानी छैन र धम्की त झनै मन पर्दैन ।

प्रतिकृया दिनुहोस्