RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/९ गते
७०१ पटक

उपत्यकामा यातायात चले पनि अत्यावश्यक काम नपरेसम्म यात्रा नगर्न सरकारको आग्रह

सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ । यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौंबाहेकका सहर (ठाउँ)को हकमा पनि यही नियम कार्यान्वयन हुँदै छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने उल्लेख थियो । ‘काठमाडौं मात्र होइन, पोखरा, नेपालगन्ज, विराटनगरलगायत अन्य ठाउँबाट पनि एक–अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न दिइने छैन,’ यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले नयाँ पत्रिकासँग भने । अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट छ ।

कानुनअनुसार लामो दूरी भन्नाले दुई सय ५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ । तर, प्रधानमन्त्रीले कानुनी व्यवस्था नहेरी सहरभन्दा बाहिर जानबाट रोक्ने उद्देश्यले ‘लामो दूरी’ शब्द प्रयोग गरेको र शनिबारको बैठकले दुई सय ५० भन्दा कम दूरीको यातायात सञ्चालनलाई पनि रोक लगाउने निर्णय गरेको विभागले जनाएको छ । कानुनी व्यवस्थाअनुसार २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ ।

कोरोनाको त्राससँगै विद्यालय तथा विश्वविद्यालयमा पठनपाठन र परीक्षा बन्द भएपछि केही दिनयता काठमाडौंबाट बाहिरिनेको भिड लागेको छ । शनिबार मात्रै साँझ ५ बजेसम्म एक लाख ८६ हजार यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनायो । ५ बजेपछि पनि यात्रु जानेक्रम रहेकाले एकैदिन दुई लाखभन्दा बढी बाहिरिएको महाशाखा प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

आफ्नो थातथलोतर्फ जान चाहनेका लागि अब २४ घन्टा मात्रै समय

आफ्नो थातथलोतर्फ जान चाहनेका लागि अब २४ घन्टा मात्रै समय छ । मन्त्री नेतृत्वको बैठकले बाँकी अवधिभित्र सहज यात्राका लागि व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यसका लागि यातायात व्यवसायीले अधिकतम सवारीसाधनको प्रबन्ध मिलाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । निर्णयअनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सबै यातायात कम्पनीका यात्रुवाहक सवारीसाधनलाई काठमाडौं पठाउन परिपत्र गरेका छन् ।

‘१० चैतअघि नै थातथलो फर्किने चाहनेलाई गन्तव्यमा पुर्‍याउनुपर्ने भएकाले सबै यातायात कम्पनीका बस काठमाडौं आउँदै छन्,’ महासंघका महासचिव सरोज सिटौलाले भने । आइतबार नियमित १० वटा बस चल्ने रुटमा ४० वटासम्म चलाउने तयारीमा महासंघ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिसान, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिसँग सवारीसाधन उपलब्ध गराउन आग्रह गरे पनि चालक नभएकाले सम्भव नहुने जवाफ दिएका छन् ।

काठमाडौंबाहिर जानेको भिड चलेपछि भाडामा कालोबजारी समेत भएको छ । तोकेभन्दा बढी भाडा लिने र सिट रिजर्भ गरी अरूलाई धेरै रकममा बेच्ने १७ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाहीसमेत गरेको छ । नियमित अनुगमन गरेर सिट क्षमताअनुसार यात्रु पठाउन सक्रिय रहेको दाबी ट्राफिकले गरे पनि उभिएर यात्रा गर्ने उत्तिकै छन् । नया पत्रिका दैनिकबाट …..

प्रतिकृया दिनुहोस्