RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/९ गते
१५४ पटक

विश्वव्यापी महामारी बनेको कोभिड–१९ विरूद्ध संयुक्तरूपमा जुध्नुपर्ने बेला नेपालका धनाढ्य भने गुमनाम छन्।
काठमाडौं। चिनियाँ धनाढ्य, अनलाइन सपिङ साइट अलिबाबाका संस्थापक ज्याक माले कोरोना भाइरसको संक्रमणबाट हुने रोग (कोभिड-१९) विरुद्ध जुध्न नेपाललाई पनि भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने घोषणा गरेका छन्।

एशियाकै सबैभन्दा धनी मानिएका ज्याक माले नेपालसहित एशियाका १० देशमा यस्ता सामग्री दिने बताएका छन्। उनैले यसअघि कोरोना भाइरसविरूद्ध भ्याक्सिन बनाउन एक करोड ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।

त्यस्तै सामाजिक सञ्जाल फेसबुकले कोभिड-१९ को मारमा परेका साना व्यवसायीहरूलाई सहयोग गर्ने भन्दै १० करोड अमेरिकी डलर अनुदान घोषणा गरिसकेको छ।

माइक्रोसफ्ट कम्पनीका पूर्व सीईओ स्टिम वालमरले पनि अमेरिकाको लस एन्जलस क्षेत्रको सामुदायिक सेवाका लागि आफूले १० लाख अमेरिकी डलर दिने बताएका छन्।

इटलीका पूर्वप्रधानमन्त्री तथा युरोपियन संसद्का सदस्य सिल्भिओ बेर्लोस्कोनीले इटलीको मिलानमा अस्पताल बनाउन एक करोड ९ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।

कोरोना भाइरसको संक्रमणविरुद्ध विश्वभरमा व्यक्तिगत तबरबाट सहयोग गरेको यी प्रतिनिधि उदाहरण हुन्। कोभिड-१९ को नकरात्मक प्रभावकै कारण विश्वकै अर्थतन्त्र चौपट भएको छ। त्यसको सुधारका लागि कसैले व्यक्तिगत रूपमा त कसैले संस्थागत रूपमा अर्बौ अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने घोषणा गरिरहेका छन्।

कोभिड-१९ कै कारण नेपाली अर्थतन्त्रका अवयवहरू पनि हल्लिन थालेका छन्। जनजीवन कष्टकर हुन थालेको छ। बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको छ।

संक्रमण भित्रन नदिन र कसैगरी कोही संक्रमित भइसकेका रहेछन् भने पनि त्यसलाई फैलन नदिन सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ। देश एक किसिमको ‘लकडाउन’ को अवस्थमा छ।

नेपालको निजी क्षेत्रले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो संकटसँग जुध्न सहकार्यको घोषणा आम अपेक्षित थियो। तर, देशका धनाढ्यहरू भने संकटको रमिते मात्रै बनेका छैनन्, संकटलाई मौकाको रूपमा उपयोग गर्दै सरकारी सुविधाले धनको थुप्रो चुल्याउने ध्याउन्नमा छन्।

नेपालमा वायु सेवा कम्पनी चलाउनेहरू बुद्ध एअरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेत, यति एअरलाइन्सका प्रबन्ध निर्देशक लाक्पा सोनाम शेर्पा, सिम्रिक एअरका रामेश्वर थापा नेपालमा धनाढ्य व्यवसायी मध्येका हुन्। तर, उनीहरू नै देशले संकट व्यहोरिरहेको बेला सरकारबाट ‘इन्सेन्टिभ’ मागिरहेका छन्।
अहिले नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन। स्वास्थ्य उपचारमा लाखौं रकम खर्च गर्नुपर्ने अवस्था पनि आएको होइन तर, पूरै देश कोभिड-१९ को कारण त्रसित रहेको बेला सचेतना अभिवृद्धि गर्न वा मास्क, पञ्जा, स्यानिटाइजरजस्ता पूर्वतयारीका आधारभूत सामग्रीको वितरणमा यी व्यावसायिक समूहले महत्त्वपूर्ण भूमिका खेल्न सक्थे।

नेपालको सबैभन्दा धनी भनेर चिनिएका र फोर्ब्सले डलर अर्बपतिको सूचीमा राखेको उद्योगी विनोद चौधरी यो विश्वव्यापी संकटको बेला गुमनाम छन्।

नेपालका ठूला व्यावसायिक प्रतिष्ठानहरू गोल्छा अर्गनाइजेशन, ज्योति ग्रुप, त्रिवेणी ग्रुप, शंकर ग्रुप, खेतान समूह, गोल्यान ग्रुप, विशाल ग्रुप लगायतका सबै औद्योगिक प्रतिष्ठानहरू सबै यो संकटका बेला कहीँ कतै देखिँदैनन्, सुनिँदैनन्।

चौधरी ग्रुपले नर्भिक अस्पताल पनि चलाइरहेको छ। अस्पतालमा आइसोलेशन वार्ड बनाएर कसैलाई कोरोनाकाे संक्रमण देखिएमा कम शुल्कमा उपचार गर्ने कार्यक्रम बनाउन सक्थ्यो।

गैरआवासीय नेपाली उपेन्द्र महतो पनि नेपालमा धनी मध्येका मानिन्छन्। उनी आफैंले ललितपुरको भैंसेपाटीमा नेपालकै सुविधासम्पन्न ‘मेडिसीटी’ अस्पताल चलाइरहेका छन्। तर, यो अस्पतालले पनि कोरोनाका बिरामीको उपचारका लागि अहिलेसम्म कुनै योजना सार्वजनिक गरेको छैन। न त महतोले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना अभिवृद्धि गर्न नै आवश्यक ठानेका छन्।

एकका लागि अर्कोको उपस्थिति देखाउन सके कोभिड-१९ को मनोवैज्ञानिक त्रासबाट केही हदसम्म भए पनि त्राण मिल्न सक्थ्यो।
उनीहरूले यस्तो सामाजिक उत्तरदायित्वको नेतृत्व लिए त्यसको अनुशरण अरू व्यावसायिक संघ संस्थाले पनि गर्ने थिए। एकका लागि अर्कोको उपस्थिति देखाउन सके कोभिड-१९ को मनोवैज्ञानिक त्रासबाट केही हदसम्म भए पनि त्राण मिल्न सक्थ्यो।

नेपालमा वायु सेवा कम्पनी चलाउनेहरू बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एअरलाइन्सका प्रबन्ध निर्देशक लाक्पा सोनाम शेर्पा, सिम्रिक एअरका रामेश्वर थापा नेपालमा धनाढ्य व्यवसायी मध्येका हुन्। तर, उनीहरू नै देशले संकट व्यहोरिरहेको बेला सरकारबाट ‘इन्सेन्टिभ’ मागिरहेका छन्।

उनीहरूले ६ चैत्रमा विज्ञप्ति निकालेर भनेका छन्, “वायु सेवा सञ्चालक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणहरूको कम्तीमा एक वर्षको ब्याजलाई मिनाह गर्नुपर्छ।”

यो सहित उनीहरूले आठवटा माग राखेर विज्ञप्ति प्रकाशन गरेका छन्। यसरी सरकारबाट सहुलियत माग गरेका वायु सेवा कम्पनी सञ्चालकहरूले सरकारले लामो दूरीका सडक सवारीमा रोक लगाउने बित्तिकै हवाई शुल्कमा २००–३०० प्रतिशत वृद्धि गरेका छन्।

नेपालका यिनै व्यवसायीहरू सधैँ उच्च राजनीतिक सम्बन्धमा रहन्छन्, नीतिगत तहमा हालिमुहाली गर्छन्। राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर आफ्नो स्वार्थ अनुसारको नीति तय गराउँछन् र फाइदा लिन्छन्। समग्र देश कोरोनाको सन्त्रासमा रहेको बेला उनै व्यवसायीहरूको सरकारी राहतको लागि रूवावासी गरिरहेका छन्।

देशभर भाटभटेनी सुपर स्टोरको सञ्जाल चलाइरहेका मीनबहादुर गुरूङ बजारमा दैनिक उपभोग्य सामग्री ल्याउँछौ र अभाव हुन दिँदैनौ भन्न सक्दैनन्। भ्याट छली गरेको र बालुवाटारको सरकारी जग्गा आफ्नो बनाएको ‘अपराध’ मा मात्रै गुरूङको नाम आउँछ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष समेत भएका र अस्ट्रेलियाका धनीहरूमध्ये पर्ने शेष घले पनि गुमनाम छन्। बरू, गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुमार पन्तले कोरोना भाइरसविरूद्धको अभियानको लागि आफ्नो संयोजकत्वमा टीम बनाएका छन्।

उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालिसकेका व्यवसायीहरू पशुपति मुरारका, प्रदीपजंग पाण्डे, सुरज बैद्य, कुशकुमार जोशी, चण्डीराज ढकाल लगायत व्यापारी–उद्योगीको नाम पनि यो संकटका बेला कतै देखिएको/सुनिएको छैन।

यसअघिको अभ्यास केलाउँदा भन्न सकिन्छ- कोभिड-१९ महामारीको संक्रमण सकिएको केही दिनमै यो वा त्यो सुविधा चाहियो भन्दै सिंहदरबार धाउने लर्कोमा यिनै व्यापारी/उद्योगीको नाम अग्रस्थानमा आउनेछ।

आफूलाई नेपालका वास्तविक उद्योगीहरूको संस्था भन्न रूचाउने नेपाल उद्योग परिसंघ पनि यो महामारीविरूद्धको युद्धमा कतै देखिँदैन। परिसंघकै पूर्वअध्यक्ष हरिभक्त शर्मा संस्थागत सामाजिक उत्तरदायित्त्वबारे सबैलाई पढाउन भ्याउँछन्।

देउराली जनता फर्मास्यूटिकल्समार्फत् औषधि उत्पादन गर्छन् तर, बजारमा स्यानिटाइजर र मास्कलगायत औषधिको कालोबजारी हुँदा त्यस्तो काम अक्षम्य हो भनेर शर्माको मुखबाट कसैले सुन्न पाएन।dekhapadhi.com बाट साभार 

प्रतिकृया दिनुहोस्