RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१० गते
७२५ पटक

बजारमा ग्यासको अभाव हुन सक्ने आशंकामा उपभोक्ताले बढी ग्यास खरिद गर्न थालेपछि उद्योगीले आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन ।

नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास खरिद गर्दा बजारमा अभाव भएपछि संघले यो व्यवस्था गरेको हो । नियमितरुपमा ग्यासको आयात भइरहेपनि बजारमा भने अभाव कायम रहेको छ । उपभोक्ताले अभाव हुन सक्ने आंशकामा घरमा भएका सबै सिलिण्डरण भर्न थालेपछि बजारमा अभाव हट्न नसकेको हो ।

संघका अध्यक्ष गोकुल भण्डारीले भारतबाट जति ग्यास आएपनि अभाव नहटेपछि उपभोक्ताको विवरण राख्ने व्यवस्था गरिएको बताए । बीस दिनको अवधिमा ३२ हजार टन ग्यास नेपाल आइसकेपनि बजारमा ग्यासको अभाव हट्न नसकेको उनको भनाई छ ।

उपभोक्ताले धेरै ग्यास राख्ने तर अरुले नपाउने अवस्था आएपछि हामीले ग्राहकको विवरण राख्ने व्यवस्था गरेको उनको भनाई छ । संघका अनुसार बिक्रेताले आफूले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्बन्धित उद्योगलाई दैनिक रुपमा लिखित जानकारी गराउने व्यवस्था गरिएको छ ।

नाकाबन्दीको समयमा समेत सरकारको निर्देशनपछि यस्तै विवरण राख्न खोजिएको थियो । तर यो कार्यान्वयनमा आउन सकेको थिएन ।
निगम प्रवक्ता विरेन्द्र गोइतले ग्यासको आयात नियमित भइरहेका उपभोक्तालाई आवश्यकता भन्दा बढी भण्डारण नगर्न आग्रह गरे । ग्यास आफैं उच्च जोखिम रहेकाले धेरै सिलिण्डर घरमा राख्दा दुर्घटना हुन सक्ने उनको भनाई छ । ग्यासको आयात भइरहेपनि व्यवसायीले कृत्रिम अभाव गराउँदा उपभोक्ताले लामो समय लाइन बस्नुपरेको छ ।

अहिले दैनिक पाँच देखि ६ सय बुलेटले ग्यास ढुवानी गरिहेका छन् । एक मेट्रिक टन ग्यासमा एक हजार दुई सय ६० सिलिण्डर भरिन्छ । एउटा बुलेटमा १८ मेट्रिक टन ग्यास ढुवानी हुन्छ । निगमकाअनुसार अहिले बजारमा ग्यासको खपतदर दोब्बरले बढेको छ । सामान्य अवस्थामा मासिक ४० हजार मेट्रिक टन ग्यासको आयात हुने गरेकोमा यो महिना ५५ देखि ६० हजार मेट्रिक टन ग्यासको आयात हुने निगमको भनाई छ । कारोबार दैनिकबाट …..

प्रतिकृया दिनुहोस्