RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१० गते
९८५ पटक

खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

यी देशका विभिन्न आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका छन् । ती कम्पनीमा तीन सय ३६ नेपाली कामदार कार्यरत छन् । संघका महासचिव सुजित श्रेष्ठका अनुसार दुबईका इन्टरकन्टिनेन्टल होटेलले एक सय २०, मिलेनियम एयरपोर्ट होटेलले ४, ग्यान्ड कज्मोपोलिटन १९ र अरबियन होटेल गु्रपले ७ नेपाली कामदारलाई फिर्ता पठाउन पत्राचार गरेको छ । त्यस्तै, बहराइनको फोर सिजन होटेलले ४८, आबुधाबीका क्राउन प्लाजा होटेलले ७८, आबुधाबी गल्फ क्लबले १३, र -याडिसन होटेलले ४७ कामदार फर्काउने भएको छ ।

लक डाउनका कारण यी कम्पनी बन्द भएका छन् । आर्थिक अवस्थामा नाजुक हुने भएपछि उनीहरूले कामदार फिर्ता पठाउने तयारी गरेको महासचिव श्रेष्ठले बताए । तर, कामदार फिर्ता ल्याउन नेपाल सक्षम नभएको उनको दाबी छ ।

वैदेशिक रोजगार विभागका अनुसार विश्वका विभिन्न मुलुकमा ४२ लाख नेपाली कामदार छन् । जसमध्ये सेवा क्षेत्रमा मात्रै ९३ हजार नौ सय ११ पुरुष र एक सय ७ महिला गरी ९४ हजार १८ कार्यरत छन् ।

सुरक्षित बस्ने वातावरण मिलाइदिन सम्बन्धित देशलाई आग्रह गरिने

सरकारले फिर्ता पठाउने तयारी गरेका कामदारलाई सम्बन्धित देशमै सुरक्षित राख्न आग्रह गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको कोरोना संक्रमण व्यवस्थापन समितिको आइतबार बसेको बैठकले तत्काल नेपाली कामदारलाई फिर्ता ल्याउन नसकिने निष्कर्ष निकालेको छ । बरु, सम्बन्धित मुलुकमा नै सुरक्षित रहने वातावरण बनाइदिन दूतावासमार्फत आग्रह गर्ने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यति वेला सबै मुलुकले लक डाउन गरेका छन् । ‘रोजगारदाताले कामदार फिर्ता लैजान भने पनि हामी ल्याउन सक्ने अवस्थामा छैनौँ । त्यसैले, सम्बन्धित देशको सरकारलाई सोही मुलुकमा रहन दिने वातावरण मिलाउन आग्रह गरिनेछ,’ उनले भने । औपचारिक रूपमा कुनै रोजगारदाताले कामदार फिर्ता लैजाऊ नभनेको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस्