RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
६५४ पटक

काठमाडौं :  काठमाडौंमा अत्यावश्यक बाहेकका सवारी सञ्‍चालन भएका छैनन्। बिहान दूध, तरकारी लगायतका अतिआवश्यक वस्तु खरिदका लागि सवारी सञ्‍चालन भएको देखिए पनि दिउँसो सडक सुनसान छ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। अत्यावश्यक र पास लिएका बाहेकका सवारीलाई चल्न दिइएको छैन।  कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो। अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

हिजो पहिलो दिन कतिपयले लकडाउनलाई गम्भीर रुपमा नलिएपछि आजदेखि सडकमा सुरक्षाकर्मीले कडाई गरिरहेका छन्। हिजो लकडाउन उल्लंघन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। सरकारले नागरिककै हितका लागि लकडाउन गरेको भन्दै यसलाई तोडेर बहादुरी नदेखाउन आग्रह गरेको छ। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्