RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
६२२ पटक

काठमाडौ – राजनीतिक दलका शीर्ष नेताहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सबै नेपालीलाई घरभित्रै बस्न अपिल गरेका छन्। कोरोना संक्रमणले विश्व आक्रान्त भइरहेका बेला सरकारले मुलुकमा जोखिम न्यूनीकरणका लागि साताव्यापी राष्ट्रिय लकडाउन आह्वान गरेका बेला दलका शीर्ष नेताहरूले पनि सरकारको कदमलाई साथ दिन घरभित्रै बसेर कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन जनतालाई अपिल गरेका हुन्।

शीर्ष नेताहरूले केही दिन घरभित्रै बसेर कोरोना संक्रमणको सम्भावित जोखिमबाट व्यक्ति–व्यक्ति र सिंगो मुलुकलाई जोगाउन सकिने भन्दै विषम परिस्थितिमा संयम अपनाउन सबैलाई आग्रह गरेका छन्। केही दिनअघिसम्म बिहानदेखि बेलुकासम्म नेता तथा कार्यकर्तासँगको भेटघाट र सार्वजनिक कार्यक्रममै बिताउने गरेका शीर्ष नेताहरू अहिले घरमै बसेका छन्। उनीहरूले आफूहरू अहिले अध्ययनसहित रचनात्मक काममा लागेको जनाउँदै जनतालाई पनि कोरोनाविरुद्धको लडाइँमा सफलता पाउने सकारात्मक सोच राख्न आग्रह गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि निवासमै बसेर सरकार सञ्चालन गरिरहेको जनाउँदै कोरोना संक्रमण हुन नदिन सबै नेपालीलाई घरभित्रै बस्न आग्रह गरेका छन्। ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु,’ ओलीले ट्विटबाट जनतालाई आह्वान गर्दै भनेका छन्, ‘तपार्इं (जनता) हरु पनि घरभित्रै बस्नुहोस्।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई संक्रमणबाट जोगिन घरभित्रै बसेर अधिकतम सावधानी अपनाउन अपिल गरेका छन्। ‘आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनी कोरोना भाइरसले विश्वभरि नै महामारीको रुप लिएको हामी सबैलाई थाहा नै छ,’ देउवाले ट्विटमार्फत आह्वान गरेका छन्, ‘यो कठिन घडीमा म तपार्इंहरू सबैलाई घरभित्रै बसेर अधिकतम सचेतना अपनाउन हार्दिक अनुरोध गर्छु।’ देउवाले केही दिनअघि आफ्नो पार्टीका सबै निकायलाई कोरोनाविरुद्ध सचेतना अपनाउन नौबुँदे परिपत्र पठाएका थिए। नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्