RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
८२८ पटक

काठमाडौं । समय : दिउँसो १ः३० बजे, बिहीबार, स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

अस्पताल प्रायः सुनसान थियो । बिरामीको संख्या निकै पातलिएको रहेछ । बिरामीले सहज र सरल तरिकाले उपचार पाउन सकेका थिएनन् । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा भर्ना भएका बिरामी भने आइसोलेसन वार्डमा थिए । मुख्यतः टेकु अस्पतालमा रेबिजविरुद्धको सुई, सामान्य ज्वरो, रुघाखोकी र सरुवा रोगका बिरामी भेटिन्छन् । ती बिरामीलाई टेकु अस्पतालले यो ‘कोरोना अस्पताल’ भन्दै उपचार नै नगरी अन्य अस्पतालमा जान आग्रह गर्न थालेको छ ।

नौबिसेकी ६३ वर्षीया ठूली तामाङलाई सास फेर्न अप्ठेरो भयो । उनी आफन्तसहित एम्बुलेन्सबाट टेकु अस्पताल पुगिन् । उनका आफन्तले अस्पताल पुग्नासाथ सहायता कक्षमा रहेका कर्मचारीलाई सोधे, ‘उहाँलाई सास फेर्न गाह्रो भयो, दम हो कि के हो ? अब के गर्दा हुन्छ ?’ तर, कर्मचारीले यो ‘कोरोना अस्पताल’ भन्दै वीर अस्पताल लैजान सुझाव दिए । केहीबेर ठूलीलाई अस्पताल प्रांगणमै राखियो उपचारको आसमा ।

तर, चेकजाँच हुने कुनै संकेत नपाएपछि उनी र आफन्त अस्पतालबाट फर्किन बाध्य भए । टेकु अस्पताल पुगेका अधिकांश बिरामी उपचार नपाएर फर्किने गरेका छन् । त्यस्तै, अहिलेको अवस्थामा अन्य निजी अस्पतालले पनि बिरामीको उपचार गर्न अस्वीकार गर्दै आएका छन् ।

दाङ लमहीका अशोक बस्नेतले ज्वरो र रुघाका कारण सिभिल अस्पताल जाँदा स्वास्थ्य जाँच नभएकामा आक्रोश पोखे । उनले भने, ‘ज्वरो आएर सभिल अस्पताल गएको थिएँ । स्वास्थ्य जाँच नै गर्न मानेनन् । अनि फर्किन बाध्य भएँ ।’ ज्वरो र रुघाका बिरामी सबैभन्दा बढी पीडित भएको पाइएको छ । सरकारी अस्पतालले ज्वरो र रुघाका बिरामीको चेकजाँच गर्न हत्तपत्त मान्दैनन् ।

टेकु अस्पताल नजिकै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्दा रिपोर्ट लिनेहरू देखिन्थे । उनीहरूले प्रयोगशालाले दुःख दिने गरेको गुनासो गरे । रिपोर्ट लिन बोलाएको समयमा नपाएको बिरामीका आफन्तको गुनासो थियो । बिरामीका आफन्त रविना वनले समयमा रिपोर्ट नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘४८ घन्टापछि रिपोर्ट लिन बोलाउनुभयो र लिन जाँदा बेलुकी आउनू भनियो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्दा सुदूरपश्चिम प्रदेशमा संकलन भएको नमुना ल्याइएको थियो । जहाज नआएपछि सो नमुना सरकारी गाडीबाट प्रयोगशाला ल्याइएको हो । बिहीबार दिउँसो १ बजेसम्म प्रयोगशालामा २५ वटा नमुना आएका थिए ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्