RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
९२९ पटक

चैत १४ गते । क्यापिटल सिटी काठमाडौँमा गाडीभरि स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधुप गर्ने जीवन आचार्य यतिबेला खेतबारीको डिलमा टहलिरहनुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका उहाँ कोरोना त्रासका कारण केही दिनअघि मात्रै गाउँ फर्कनु भएको हो ।

अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था अहिले छैन । खेतमा लगाइएको हिउँदेखेती थन्काएर मकै लगाउने याम छ अहिले छ गाउँमा । मकै लगाउनुपूर्व खेतमा पु¥याउनुपर्ने मल बोक्ने काममा उहाँले आफूलाई व्यस्त राख्नु भएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै काठमाडौँ छोडेर उहाँको गाउँमा थुप्रै युवा आएका छन् । पछिल्लो समय वृद्धाश्रम जस्ता देखिने गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । देश नै लकडाउन भएपछि त्यसको असर गाउँमा कम छ । कृषि कर्म चलिरहेकाले दुई÷चारजना मिलेर मल बोक्ने, मकै लगाउने, खेत छेउछाउ र घर वरिपरिका झाडी सफा गर्ने काम चलिरहेको शर्मा बताउनुहुन्छ ।

बागलुङ बजारमा कानून व्यवसाय गरेर बस्दै आएका रमेश खड्का आफ्नो पुरानो गाउँ तित्याङ फर्किनुभएको छ । लामै समय भयो, उहाँ चाडपर्वबाहेक गाउँमा कमै जानुहुन्थ्यो । एकै दिनमा पुगिने बजारमा दैनिक हुने कामले उहाँलाई गाउँ बस्न फुर्सद थिएन । लामो समय छोडेको घर कतै भत्किएको, कतै झार उम्रिएको अवस्थामा थियो । कोरोनाको त्रासले सदरमुकाम छोडेर गाउँ फर्किएका खड्का दुई दिनयता आफ्नै पुरानो घर सिँगार्न व्यस्त हुनुहुन्छ । “गाउँ आइयो, काम केही छैन”, खड्काले भन्नुभयो, “भत्किएका संरचना बनाउँदैछु ।”

आचार्य र खड्का जस्तै गाउँबाट शहरमा आई काम गर्ने कैयौँ युवा तथा वयस्क यतिबेला गाउँ फर्किएका छन् । कामको चटारो चल्ने समयमा गाउँ फर्किएका युवाले त्यहाँमा रहेका बूढापाकालाई सघाइरहेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने बताउनुहुन्छ । बागलुङ बजारमा होटल व्यवसाय गरेर बसेका जीतबहादुर थापा अहिले पुख्र्यौली गाउँ रेश फर्किनुभएको छ । केही दिन पहिले गाउँ पुग्नुभएका उहाँका तीनै भाइ बागलुङ बजारमै सपरिवार बस्ने भएकाले गाउँको घरको रुपरङ्ग नै फेरिएको थियो ।

कोरोनाको सन्त्रासले गाउँ फर्केका जीतबहादुरको दैनिकी यतिबेला घर पोत्ने, भाँडा धुने, ठाउँ बनाउने, वरिपरि बार्नेलगायत काममा बितिरहेको छ । “दशैँ आएभन्दा बढ्ता भएको छ, गाउँ सिङ्गारिँदै गएका छन्, छोडेका घरले सुसार पाएका छन्”, लामिछानेले भन्नुभयो, “त्रास एकातर्फ होला तर गाउँका दिन आए नि ! ।” बजारमा बस्नेहरु अधिकांश गाउँ फर्केका कारण शहर भने सुनसान छ । पहिले गाउँ जानेहरु दुई÷चार दिन पनि बिताउन नसक्नेहरु यसपटक धेरै दिनसम्म गाउँमै बिताउने भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार दशैँको समयमा भन्दा धेरै सर्वसाधारण यतिबेला शहर बजारबाट गाउँमा भित्रिएका छन् । यकिन तथ्याङ्क नरहेको भए पनि लकडाउन पूर्वका केही दिन सवारीमा देखिएको चापले शहरको जनसङ्ख्या सहजै अनुमान लगाउन सकिन्छ । भूकम्पका बेला छोडेका घरहरुले समेत यो समय संरक्षण हुन थालेका छन् भने गाउँमा एक्लै बनेका वृद्धवृद्धाले सहाराको अनुभूति गरेको स्थानीय तहका प्रतिनिधिहरु बताउँछन् ।

“बाँझिएका खेतमा गोरु नार्ने कोही थिएन, कसरी खेती गर्ने होला भन्ने थियो”, बागलुङको बलेवाका धनपति पौडेल भन्नुहुन्छ, “छोराछोरीहरु गाउँ आएका छन्, विगतमा बाँझिएका खेतबारी यसपटक खनजोत गरी खेतीपाती गर्न थालिएको छ ।” वैदेशिक रोजगारीबाट फर्केकाबाट त्रसित बनिरहेका गाउँलेले गाउँ फर्किएकाको फेरिएको दैनिकीबाट भने सास फेरेका छन् । लकडाउन भएपछि सदरमुकाम बागलुङ बजार भने सुनसान बनेको छ भने गाउँघरमा निकै चहलपहल बढ्न थालेको छ ।RSSS

प्रतिकृया दिनुहोस्