RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
७०५ पटक

गोरखा : दैलो अगाडी खाल्डो खन्दा निस्केको अँगार निधारमा लगायो भने कोरोनाले छुँदैन भन्ने भ्रामक सन्देश फैलिएपछि गोरखाका विभिन्न गाउँका बासिन्दा अहिले आँगन खन्नमा व्यस्त छन् । धार्चे गाउँपालिका–२ रुन्चेतमा दुईसय ६५ घरका बासिन्दाले खाल्डो खनिसकेको स्थानीय शिक्षक रामपति गुरुङले जानकारी दिए ।

‘हिजोदेखि यो हल्ला चलेको हो। हाम्रो गाउँका सबै घरको आँगन खनिसकेका छन्’, उनले भने, ‘आँगन खन्दा अँगार जस्तो चिज भेटिने रहेछ । अनि त्यो परिवारले निधारमा, घाँटीमा लगाएर हिडिरहेका छन् ।’ विपतका बेला आत्तिएका सिधासाधा गाउँले यसबाट मुक्ति पाउन जे गर्न पनि तयार हुने उनले बताए ।

केरौंजा गाउँमा पनि धमाधम खन्ने काम भइरहेको वडा अध्यक्ष सुकबहादुर गुरुङ बताउछन् । ‘मेरो घरमा चाहिँ खनेको छैन । हाम्रो गाउँमा करिब तीन सय घर छन् । केहीबाहेक प्राय सबै घरमा खनिएको छ’, उनले भने ।

धार्चे गाउँपालिका–३ का वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङको परिवार पनि आँगन खनेर कालो टीका लगाएका छन् । ‘हाम्रो गाउँमा त आँगन खन्नू कालो टीका लगाउनू भनेर हिजो कटुवाल करायो’, उनले भने, ‘आज त बिहानै तीन बजेदेखि अहिलेसम्म पनि आँगन खनिरहेका छन् । मेरो परिवारले पनि खनिसके ।’ गाउँलेको मन शान्त हुन्छ भने होओस् भनेर आफू पनि चुपचाप बसेको उनको भनाइ छ ।

आफ्नो गाउँमा पनि दलाइ लामाले पठाएको सन्देश भनेर सबैले दैलो खनेर निस्केको कालो टीका लगाउने गरेको बारपाक सुलीकोट गाउँपालिका–३ की शिक्षिका सलिना गुरुङले जानकारी दिइन् । अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्