रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
६०४ पटक
काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।