RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२० गते
६३८ पटक

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ ।

कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रूपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो । नेपालमा सामान्यतयाः माघ÷फागुनदेखि असार मसान्तसम्म विकास निर्माणको भौतिक प्रगति देखिने, पुँजीगत खर्च बढी हुने गरेको छ ।

हाल हाइड्रोपावर तथा अन्य केही विकासे परियोजनाको काम सीमित जनशक्तिको भरमा भइरहे पनि अन्य पूर्वाधार निर्माण ठप्प जस्तै छ । प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलियाले अहिले परियोजनाभित्र क्याम्पमा बसेर काम गरिरहेका कामदारबाट केही परियोजनामा सीमित जनशक्तिको भरमा काम भइरहे पनि अन्य ठाउँमा काम रोकिएको जानकारी दिए ।

उनका अनुसार चैत÷वैशाख विकास निर्माणका लागि अति महŒवपूर्ण समय रहेको र थोरै समय काम नहुँदा पनि ठूलो असर पर्ने भए पनि मानिसको जीवनभन्दा ठूलो कुरो अन्य नरहेकाले अहिले स्वास्थ्यलाई प्राथमिकता दिएको जानकारी दिए । ‘हामी सुरक्षित भइयो भने भोलिका दिनमा पुनः कामलाई अगाडि बढाउन सकिन्छ त्यसैले अहिले विकास निर्माणभन्दा मानिसको स्वास्थ्य ठूलो हो भनेर प्राथमिकता दिएका छौं,’ उनले राजधानीसँग भने ।

सरकारले कोरोना भाइरस थप नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि देशभर लकडाउन गरेको थियो । सरकारले पुनः एक साताका लागि लकडाउनको अवधि थप गरेको छ । सरकारले जो जहाँ छन्, त्यहीँ बस्न आग्रह गर्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सवारी नचलाउन आग्रह गर्दै आएको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्