RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२३ गते
७८६ पटक

काठमाडौं, चैत्त २३ गते । कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको बताएका छन् ।
तर अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानलाई परिणाममुखी बनाएको दाबी गरेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको दाबी गरेका छन् । औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधी हो । जसको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्नेछ । उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ । इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ ।
शुक्रबार मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा. काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताउनुभयो । एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ । वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्न जुटेका छन् । कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ ।
“विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो ।”–डा. वाग्स्टाफले बताउनुभयो । विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । वैज्ञानिकले मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने जनाएका छन् । इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ ।
(नोटः कोरोना विरुद्ध विश्वमा भएक खोजबारेका यी समाचार पाठलाई जानकारी गराउने उद्देश्यले मात्र प्रकाशित गरिएको हो । यस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाह र रेखदेख बिना कुनै हालतमा गर्न नहुने कुरा आदरणीय पाठक वर्गमा अनुरोध छ : सम्पादक )

साभार गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्