RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
९८७ पटक

सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र उपचारमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले देशभर रहेका ५१ हजार ४ सय २० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा कन्ट्रयाक ट्रेसिङ् गरेर काठमाडाैं फर्केलगत्तै जनस्वास्थ्य अधिकृत दिपकराज भट्टले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्नु आवश्यक रहेको बताएका थिए । केन्द्रबाट सिमित कर्मचारीले बिदेशबाट आएका व्यक्तिको खोजीकार्य सम्भव नहुने भन्दै यस कार्यमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्नुको विकल्प नभएको आइतबार बिहान स्वास्थ्य सचिव समक्ष प्रस्ताव गरेका थिए ।

कोरोना महामारीमा खटिने स्वयम् सेविकाहरुलाई मासिक भत्ता र बिमाको व्यवस्था गर्न सकिने स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाले बताए । उनीहरुका लागि मासिक ६ करोड रुपैयाँ खर्च हुन्छ ।

नेपालले हाल स्वास्थ्य क्षेत्रमा प्राप्त गरेका उपलब्धीहरु महिला स्वास्थ्य स्वंयसेविकाहरुकै कारणले भएको स्वास्थ्य मन्त्रालयको ठहर छ । मुख्य गरी बाल मृत्युदर र मातृमृत्युदर घटाउन  स्वंयसेविकाको भुमिका उल्लेखनीय रहेको छ । नयाँ पत्रिका दैनिकबाट 

प्रतिकृया दिनुहोस्