RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
८०२ पटक

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) स्थानीयस्तरमा फैलिने क्रम सुरु भए पनि सरकारले गर्दै आएको परीक्षण कार्य कछुवाको गतिमा अघि बढेको छ । द्रुतगतिमा परीक्षण नहुँदा संक्रमण दर फैलिन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालमा कोरोना परीक्षणका लागि आवश्यक प्रविधि रियल टाइम पीसीआर ३० देखि ३५ वटाको हाराहारीमा रहे पनि सरकारले ती प्रविधि उपयोगमा ल्याउन सकेको छैन ।

सरकारले कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, कृषि तथा वन विश्वविद्यालय बायो टेक्नोलोजी विभाग चितवनमा रहेको प्रविधिलाई मात्रै प्रयोगमा ल्याएको छ ।

यस्तै, बायोसेफ्टी लेभल २ प्रयोगशालाको समेत चरम अभाव छ । त्रिवि रसायन शास्त्र केन्द्रीय विभागका प्राडा. निरञ्जन पराजुलीका अनुसार ज्वरो आएर ‘फिबर क्लिनिक’ मा आएका सबैको नमुना परीक्षण गरिनुपर्ने बताउँछन् ।

उनले भने, ‘कोरोना परीक्षण एकदमै न्यून मात्रामा भएको देखिन्छ । सरकारले परीक्षणको दायरा तीव्र मात्रामा बढाउनुपर्ने देखिन्छ ।’ त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख डा. मेघराज बन्जराले सरकारलाई आवश्यक परे ल्याब र विद्यार्थी दुवै तयार रहेको बाए । माइक्रोबायोलोजी अध्ययन गरेका सबै विद्यार्थीलाई रियल टाइम पीसीआरबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान हुन्छ ।

सरकारले जतिसक्दो छिटो परीक्षणको दायरा बढाउने कार्ययोजना सार्वजनिक गर्दै उच्च जैविक सुरक्षा (वायोसेफ्टी)सहितको प्रयोगशाला, परीक्षण कीट, ‘रियल–टाइम पीसीआर’, प्राविधिक र विज्ञ आवश्यक पर्ने बताए ।

७५ दिनको अवधिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ हजार ६ सय ९७ जनाको कोरोना परीक्षण भएको छ । जसअन्तर्गत ९ जनाको कोरोना पोजेटिभ नतिजा आएको छ भने १ हजार ६ सय ८८ जनाको कोरोना नेगेटिभ नतिजा आएको छ । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रियल टाइम पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ ।

माइक्रो बायोलोजिस्टका अनुसार रियल टाइम पीसीआर भन्नाले रिभर्स ट्रान्सिक्रप्टेज पोलिमरेज चेन रियाक्सन हो । यो प्रविधिमार्फत भाइरसको आरएनएबाट पुनः डीएनए बनाई त्यसको मात्रा हेर्ने गरिन्छ ।

यसैबीच, कैलाली, कञ्चनपुर र बाग्लुङबाट -यापिड डायग्नोस्टिक टेस्ट सुरु भएको छ । कैलालीमा पाँच हजार कीट पठाइएको छ । हालसम्म १ सय ७ जना आइसोलेसनमा उपचाररत छन् । जसमध्ये काठमाडौं उपत्यकामा १२ जना र बाहिर ९५ जना अइसोलेसनमा उपचाररत छन् । देशभरका १० स्थानबाट कोरोना परीक्षण सुरु भइसकेको छ । यस्तै, धुलिखेल, भरतपुर र भैरहवाबाट रियल टाइम पीसीआर प्रविधिमार्फत परीक्षण सुरु भएको छ ।

माइक्रो बायोलोजी संघर्ष समितिका उपाध्यक्ष अजितकुमार राय यादवले सरकारले माइक्रो बायोलोजिस्टको जनशक्ति उपयोगमा ल्याउन सकेको बताए । हाल माइक्रो बायोलोजिस्ट पढेका नेपालभित्र रहेका योग्य जनशक्ति झन्डै २ हजार ५ सय रहेको छ ।

देशभर क्वारेन्टाइनमा रहेका बेड संख्या ३० हजार ५ सय ६६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ५९ आइसोलेसन वेड रहेका छन् । उपत्यकामा ३ सय बढी आइसीयू बेड रहेका छन् । ९ हजार २ सय ६३ जना क्वारेन्टाइन र आइसोलेसन बेडमा रहेका छन् ।  rajdhanidaily.comबाट 

प्रतिकृया दिनुहोस्