RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
८२२ पटक

केही दिन अघिसम्म ग्यासको अभाव खेपेका उपभोक्ताले अहिले सहजै पाउन थालेका छन् । भारतबाट मागभन्दा बढी ग्यास आपूर्ति हुनु र बजारमा आधा सिलिण्डर ग्यासमात्र पठाउनुजस्ता कारणले अभाव पूर्ण रूपमा अन्त्य भएको हो । अहिले सिलिण्डर खाली नहुँदा ग्यास बुलेटमै रोकिएको अवस्था रहेको कतिपय उद्योगीहरूले बताएका छन् ।
सामान्य अवस्थामा ३९ हजार टन ग्यासको आयात हुने गरेकोमा मार्च महिनामा ४५ हजार टन आयात भएको निगमले जानकारी दिए । निगमका प्रवक्ता विनितमणि उपाध्यायले मार्च महिनामा ४५ हजार ३८१ टन ग्यास भित्रिएको जानकारी दिए । ग्यासको आयात मागभन्दा बढी भएकाले बजारमा अभाव नभई फालाफालको अवस्था रहेको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमणले बजारमा ग्यासको अभाव हुनसक्ने भन्दै निगमले पर्याप्तमात्रामा आयात गरेको थियो । केही समयअघि ग्यासको अभाव भए पनि अहिले भने बजारमा पर्याप्त उपलब्ध भएको छ । लकडाउनयता दैनिक एक सय बुलेट ग्यास लोडिङ गरिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

मागभन्दा बढी आएपछि काठमाडौं उपत्यकामा ग्यास बिक्री हुनै छाडेको छ । कोरोना संक्रमणसँगै उपभोक्ताले आत्तिएर चाहिनेभन्दा बढी भण्डारण गर्दा अहिले ग्यास बिक्री हुन छाडेको हो । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पछिल्लो केही दिनदेखि ग्यास बिक्री नै हुन छाडेको बताए । उद्योगको भण्डारण पनि भरिन थालिसकेकाले केही भरिएका बुलेट थन्क्याउने परिस्थिति आएको उनले जानकारी दिए ।
नाकाबन्दीजस्तै सोचेर उपभोक्ताले बढी स्टक राख्दा केही समय बजारमा अभाव देखिएको भएको तर अहिले नियमति आयात भइरहेकाले उद्योगीमै ग्यास भन्डारण गरिएको व्यवसायीको भनाई छ । बजारमा ग्यासको अभाव पूर्णरूपमा हटेको निगमले जानकारी दिएको छ ।
निगमको टेकुमा रहेको बिक्री कक्षमा ६ दिनमा ६ सय ३२ सिलिण्डर मात्रै बिक्री भएको छ । त्यहाँ २२ वटा उद्योगको ग्यास बिक्रीका लागि राखिएको छ । निगमले अभाव हटाउन दुई साताअघि आधा सिलिण्डर ग्यास बिक्रीको निर्णय गरेको थियो । यो निर्णयपछि ग्यास अभाव विस्तारै हट्दै गएको छ । भारतबाट पनि १५ दिनको अवधिमा १५ हजार टन ग्यास दिने प्रतिबद्धता जनाएको छ । ग्यास धेरै खपत गर्ने क्षेत्र होटल र रेष्टुरेन्ट हुन् । लकडाउनले होटेर रेष्टुरेन्ट बन्द हुँदा ग्यासको खपत घटेकाले बजारमा अभाव हटेको व्यवसायीको भनाइ छ ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्