RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
६५३ पटक

लकडाउनको समय लम्बिँदै जाँदा दैनिक ज्यालादारीमा काम गर्ने ४४ लाख श्रमिकको दैनिकी कष्टकर बन्दै गएको छ । नेपालको श्रमशक्तिमध्ये ८० प्रतिशत अर्थात करिब ४४ लाख श्रमिकले लकडाउनमा रोजगारी गुमाउँदा दैनिकी कष्टकर बन्दै गएका हो । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई पारिश्रमिक दिन सरकारले रोजगारदातालाई निर्देशन दिए पनि दैनिक ज्यालादारी गर्नेको हकमा सरकारले राहत कार्यक्रम ल्याउन सकेको छैन ।

नेपालको अर्थतन्त्रलाई औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको आयस्रोतका आधारमा उनीहरूको आर्थिक क्रियाकलाप मापन गरिँदै आएको केन्द्रीय तथ्यांक विभागमा तथ्यांक अधिकृत पृथ्वीविजय राज सिजापतिले बताए । “नेपालको कुल श्रमशक्तिमध्ये अनौपचारिक श्रम बजारमा ६२.२ प्रतिशत अर्थात ४४ लाख ११ हजार कार्यरत छन्,” तथ्यांक अधिकृत सिजापतिले कारोबारसँग भने, “अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरले दैनिक काम गरेको आधारमा पारिश्रमिक पाउँदै आएका थिए तर हाल रोजगारीका यस्ता क्षेत्र बन्द छन् ।” नेपालको अनौपचारिक क्षेत्रमध्ये सबैभन्दा बढी कृषि, निर्माण, यातायात र सेवा क्षेत्रमा धेरै श्रमिक कार्यरत छन् ।

कोरानाभाइरस (कोभिड–१९) को संक्रमणपछिको लकडाउनमा निर्माण र उद्योग क्षेत्र पूर्ण रूपमा बन्द छन् । नेपाल टे«ड युनियन महासंघ अनुशासन आयोग प्रमुख विष्णु लम्सालले कोरोना संक्रमणका कारण रोजगारी गुमाउने श्रमिकको रोजगारी सुरक्षा गर्न सरकारले दिर्घकालिन योजना बनाउनुपर्ने बताए । उनका अनुसार वैदेशिक रोजगारीमा रहेका हजारौ नेपालीले समेत रोजगारी गुमाउने अवस्था आउने भएकाले त्यसका लागि पनि सरकार तयारी अवस्थामा बस्नु पर्ने छ ।

अनौपचारिकको तुलनामा औपचारिक क्षेत्रमा ३७.८ प्रतिशत अर्थात २६ लाख ७५ हजार श्रमिक कार्यरत छन् । औपचारिक र अनौपचारिक रोजगारीलाई विभाजन गरी हेर्दा नेपालमा १५.४ प्रतिशत औपचारिक रोजगारी र ८४.६ प्रतिशत अनौपचारिक रोजगारी रहेको छ । रोजगारमा रहेका र तलब÷ज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी १७ हजार ८०९ रहेकोमा पुरुषको औसत मासिक आम्दानी १९ हजार ४६४ र महिलाको औसत मासिक आम्दानी १३ हजार ६३० रहेको केन्दिय तथ्याक विभागले जनाएको छ ।

नेपालको प्रामाणिक औद्योगिक वर्गीकरण अनुसार रोजगारीको वितरण हेर्दा सबैभन्दा बढी व्यक्तिहरू संलग्न ५ वटा क्षेत्रहरूमा कृषि, वन र माछापालन क्षेत्रमा २१.५ पतिशत, थोक तथा खुद्रा बिक्री मोटरगाडी तथा मोटरसाइकलको मर्मतसम्भार १७.५, उद्योग १५.१, , निर्माण १३.८ र शिक्षामा ७.९ प्रतिशत रहेको छ । प्रामाणिक पेशाको वर्गीकरण अनुसारको रोजगारीलाई हेर्दा सबैभन्दा बढी ३ वटा पेशा समूहहरूमा सेवा तथा बिक्री, प्रारम्भिक आधारभूत सेवा र हस्तकला (यन्त्र) र त्यससँग सम्बन्धित व्यापार गर्ने काममा क्रमशः २३.८, २०.३ र १९.६ प्रतिशत रहेको छ ।

सबैभन्दा कम उच्च तहका प्रबन्धकहरूको पेशामा १.२ प्रतिशत मात्र रोजगारी रहेको छ । प्रबन्धकहरूमध्ये पुरुष ८६.८ प्रतिशत र महिला १३.२ प्रतिशत रोजगारी रहेको तथ्यांकमा रहेको छ । रोजगारत जनसंख्यामध्ये ६९ प्रतिशत अर्थात ४९ लाख १ हजार शहरी क्षेत्रमा रहेको छ भने ३१ प्रतिशत अर्थात २१ लाख ८५ ग्रामीण क्षेत्रमा रहेको छ । नेपालको ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको छ । यस मध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० हजार महिला छन् ।

रोजगारमा रहेको जनसंख्यालाई प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी ४३.८ प्रतिशत प्रदेश नं. ३ मा र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २४.१ प्रतिशत रहेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले पनि मगलबार सार्वजानिक गरेको पछिल्लो प्रतिवेदनमा कोरानाका कारण न्युन आयस्रोत भएका देशहरूमा ९० प्रतिशत रोजगारीका क्षेत्र बन्द गर्नुपरेको उल्लेख छ । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्