RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३ गते
८०४ पटक

काठमाडौं । सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ ।

पूर्वविशिष्ट व्यक्तिको सुरक्षाका लागि कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको भन्दै गत आइतबार राजधानी दैनिकले समाचार प्रकाशन गरेपछि गृहमन्त्री रामबहादुर थापाले कार्यविधिविपरीतका सुरक्षाकर्मी तत्काल फिर्ता गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मन्त्रालय बोलाएरै सो निर्देशन दिएको गृह स्रोतले जानकारी दिएको छ ।

‘गृहमन्त्रीज्यूले दुवै सुरक्षा अंगका प्रमुखलाई कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न भनिसक्नुभएको छ, अब कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता हुन्छ,’ गृह स्रोतले भन्यो ।

कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले भारततर्फको दक्षिणी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यसरी सुरक्षाकर्मी थप गर्दा सुरक्षा निकायले संख्या अपुग भएपछि भर्खरै तालिम सकाएर बसेका तथा विभिन्न गण तथा गुल्ममा रहेका सुरक्षाकर्मीलाई समेत पठाइएको छ ।

तर, सरकारी कार्यविधिविपरीत नै पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री तथा मन्त्रीहरूले व्यक्तिगत सुरक्षाका लागि निवासमा कार्यविधि उल्लंघन गरेर सुरक्षाकर्मी राख्दै आइरहेका छन् ।

गृह मन्त्रालयले भने कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्नेसम्बन्धी प्रस्ताव एक वर्षअघि नै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद् कार्यालयले सो प्रस्तावलाई अघि बढाएको छैन ।

कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीहरूले नौ जनासम्म तथा उपप्रधानमन्त्री एवं मन्त्रीहरूले दुई जनासम्म सुरक्षाकर्मी राख्न पाउँछन् । तर, केही पूर्व प्रधानमन्त्रीसँग भने कार्यविधिभन्दा ८ गुणाभन्दा बढी सुरक्षाकर्मी रहेको पाइएको छ । पूर्वमन्त्रीकहाँ पनि झन्डै १० गुणासम्म बढी सुरक्षाकर्मी रहेको पाइएको छ ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा तैनाथ छन् । उनीसँग हाल ७७ जना सुरक्षाकर्मी खटिएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालकहाँ कार्यविधिअनुसार नौ जना हुनुपर्नेमा १९ जना छन् भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकहाँ ९ जना हुनुपर्नेमा ३८ जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकहाँ १७ जना, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकहाँ १२ जना, डा. बाबुराम भट्टराईकहाँ ११, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीकहाँ १० जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।

यसैगरी, पूर्वउपप्रधान तथा मन्त्रीहरूले कार्यविधिअनुसार दुई जनासम्म मात्रै पाउने भए पनि दर्जनौं सुरक्षाकर्मी खटिँदै आएका छन् । जसअनुसार पूर्वउपप्रधानमन्त्री कमल थापाकहाँ १५ जना, भीम रावलकहाँ १८ जना, गोपालमान श्रेष्ठकहाँ ९ जना, नारायणकाजी श्रेष्ठकहाँ १४, पूर्वमन्त्री डा. रामशरण महतकहाँ ६, वामदेव गौतमकहाँ १६, गोविन्द राज जोशीकहाँ ६ जना सुरक्षाकर्मी खटिँदै आएका छन् ।

यसैगरी, पूर्वसभामुख ओनसरी घतीको निवासमा कार्यविधिअनुसार दुई जना पाउनेमा १० जना खटिँदै आएका छन् । गृह मन्त्रालयका अनुसार विभिन्न ९६ जना व्यक्ति तथा संस्थाले सुरक्षाकर्मी प्रयोग गर्दै आइरहेका छन् । कार्यविधिअनुसार उनीहरूलाई ७७ जनासम्म उपलब्ध गराउनुपर्नेमा ६ सय ५ जनासम्म सुरक्षाकर्मी उपलब्ध गराइएको छ । जसअनुसार ५ सय १८ जना सुरक्षाकर्मी भीआईपीले दुरुपयोग गर्दै आइरहेका हुन् ।

विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २५ जेठ २०६८ को बैठकले भने पूर्वप्रधानमन्त्री दाहाललाई २६ जना सुरक्षाकर्मी दिने निर्णय गरेको थियो । त्यसपछि २२ माघ २०७४ को मन्त्रिपरिषद् निर्णयले खटाउँदै आएको सुरक्षालाई यथावत् राख्ने भनेको थियो ।राजधानी दैनिकबाट ……

प्रतिकृया दिनुहोस्