RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/७ गते
८१८ पटक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।

बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पोरेनि’ सँग सम्झौता गरेको हो । बैंकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियो । नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्ताक्षरयुक्त कुल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउनेछ ।

केन्द्रीय बैंकले ५ रुपैयाँ दरको नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्न राष्ट्र बैंकले गत १४ जनवरीमा टेन्डर आह्वान गरेको थियो । त्यसमा आएको आवेदनका आधारमा चाइना बैंक नोट प्रिटिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई नोट छपाइको जिम्मा दिइएको हो । सो कम्पनीसँग ४३ लाख ९७ हजार ५ सय अमेरिकी डलरमा यस्तो सम्झौता गरिएको राष्ट्र बैंकको भनाइ छ ।

यसैगरी, १० रुपैयाँ दरका लागि कम्पनीसँग ४१ लाख ४० हजार ४ सयमा खरिद सम्झौता भएको छ ।

नोट छाप्नुपूर्व नेपाल राष्ट्र बैंकले ‘ग्लोबल टेन्डर’ आह्वान गर्दछ । जसमा विश्वका झन्डै २० वटा कम्पनीले आवेदन दिने गर्छन् । ‘प्रि क्वालिफिकेसनमा’ परेका कम्पनीको प्राविधिक र आर्थिक सर्वेक्षण अध्ययन गरेपछि नेपाल राष्ट्र बैंकले कम्पनी छनोट प्रक्रिया टुंग्याउँछ ।

केन्द्रीय बैंकले यसअघि नै दसैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको थियो । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दसैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो योजना बनाएको हो ।

दस्रंमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिँदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेकोे बुझाइ राष्ट्र बैंकको छ । राष्ट्र बैंकले वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी नोट छपाइमै खर्च गर्दैै आएको छ ।

नेपालले पहिलोपटक २०७३ सालमा चीनमा १ हजार रुपैयाँ दरका नोट छापेको थियो । यसअघि नेपालका नोटहरू जर्मनी, स्विडेन, बेलायत, नेदरल्यान्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसियालगायतका मुलुकमा छापिन्थे ।

जर्मनीले जिस्क एन्ड डेभ्रिएनट जीएमबीएचर बन्डेस डर्केरीमार्फत र स्विडेनले क्रेन एबी कम्पनीमार्फत, बेलायतले डिलारु करेन्सीमार्फत नोट छाप्ने काम लिइरहेका छन् ।

त्यस्तै, फ्रान्सको ओबेरथर फिडुकेयर, रसियाको फेडरल स्टेट युनेटरी इन्टरप्राइजेज, इन्डोनेसियाको पेरुम पेरुरी, नेदरल्यान्डको जोन ईन्सेड बैंक नोट बीभी, क्यानडाको क्यानेडियन बैंक नोट कम्पनी लिमिटेडबाट नोटहरू छाप्ने गरिन्छ ।www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्