RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/८ गते
६९८ पटक

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । चैत र वैशाखको महसुलको हकमा जेठ ६ गतेसम्म तिर्दा दुई प्रतिशत छुट दिने भएको छ ।

निर्धारित समयभित्र भुक्तानी नगरे जरिवाना लाग्ने व्यवस्था भए पनि सरकारी निर्णयअनुसार, फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । लकडाउन अझै लम्बिए सोहीअनुसार समय थप हुने उनले जानकारी गराए ।

उपभोक्तालाई विद्युत् महसुल, विलम्बबापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने निर्णय चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको ८३०औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो । मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकले अघिल्लो महिना तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठवटा अनलाइन सेवा प्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ, लकडाउन सकिएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नुभएको रकममा समायोजन गरिनेछ,’ घिसिङले भने ।

लकडाउनको अवस्थामा दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानी लगायतलाई रकम आवश्यक पर्ने र महसुल समयमा संकलन नभए न्यूनतम सेवा प्रवाहका लागि नै खर्च नपुग्ने जोखिम आउन सक्ने देखेर अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गरेको प्राधिकरणले प्रस्ट पारेको छ । ‘ग्राहक वर्गले प्राधिकरणलाई गरेको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौं,’ घिसिङले भने ।नागरिक दैनिकबाट ……

प्रतिकृया दिनुहोस्