RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
५२२ पटक

सुर्खेत – कर्णाली प्रदेश सरकारले सीमा नाकामा अलपत्र यात्रुहरुको उद्दार गरेर सम्वन्धीत जिल्लामा पु-याउनका लागि विभिन्न मन्त्रीहरुहलाई जिम्मेवारी तोकेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार प्रदेश नाकामा आएर अलपत्र परेका नागरिकहरुको उद्दारका लागि विभिन्न मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई दैलेख र सल्यान, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई जुम्ला र सुर्खेत, सामाजिक विकास मन्त्री दल रावललाई हुम्ला र मुगु, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई कालिकोट र रुकुम पश्चिम र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई जाजरकोटको जिम्मा लगाइएको छ।

अन्य प्रदेशबाट आएर कर्णालीका सीमा नाकामा राखिएका विभिन्न जिल्लाका नागरिकहरुलाई उद्दार गरेर जिम्मेवारी पाएका मन्त्रीहरुले सम्वन्धीत जिल्लाहरुमा पठाउने छन्।

यस्तै कालिकोटका स्थानीय तहहरुले पनि तराईका विभिन्न जिल्लामा रहेका आफ्ना नागरिकहरुको उद्दारको कामलाई तिव्रता दिएका छन्। शान्तित्रिवेणी, नरहरिनाथ, पचालझरना गाउँपालिकाका साथै राष्टकोट नगरपालिकाले आफ्ना नागरिकहरुको उद्दार सुरु गरेका हुन्। शान्तित्रिवेणी गाउँपालिकाले प्रदेश राजधानी सुर्खेतमा रहेका आफ्ना एक सय बढी नागरिकहरुलाई उद्दार गरेर लगेको छ। ‘अध्ययन र कामका लागि प्रदेश राजधानीमा रहेका नागरिकहरुको उद्दार गरेका हौं,’ गाउँपालिका अध्यक्ष डम्वर शाहीले भने, ‘अरु जिल्लामा रहेका पालिकाभित्रका नागरिकको पनि उद्दारको काम सुरु भएको छ।’

गाउँपालिकाले बुधबार विहान तीन वटा बसमा सुर्खेतमा रहेका आफ्ना नागरिकको उद्दार गरेको हो। ‘लकडाउनका कारण खाद्यान्न अभाव भएर भोकै बस्नुपर्ने अवस्था आएपछि आफ्ना नागरिकहरुलाई प्रदेश सरकारको समन्वयमा गाउँ ल्याएका हौं,’ उनले भने, ‘यहाँ पनि स्वास्थ्य जाँच गरेर १४ दिनसम्म होम क्वारेन्टाइनमा राख्छौं।’

नगरहरिनाथ गाउँपालिकाले पनि आफ्ना नागरिकहरुलाई गाउँ पु-याएको छ। ‘लामो समयको लकडाउनले सुर्खेतमा खान र बस्नको समस्या भएपछि आफ्ना नागरिकहरुको उद्दार गरेका हौं,’ अध्यक्ष धिरबहादुर विष्टले भने, ‘अरु पनि नागरिकहरुलाई उद्दारको प्रक्रिया सुरु गरेका छौं।’
यस्तै राष्टकोट नगरपालिकाले पनि आफ्ना नागरिकहरुको उद्दार सुरु गरेको छ।

नगरपालिकाले बुधबार ५० बढी नागरिकको उद्दार गरेको छ। शुक्रबार आफ्ना थप नागरिकहरुलाई प्रदेश राजधानी वीरेन्द्रनगरबाट लैजाने तयारी राष्टकोट नगरपालिकाको छ। ‘यसका साथै काठमाडौंमा रहेका आफ्ना नागरिकहरुलाई पनि गाउँ ल्याउने तयारीमा लागेका छौं,’ राष्टकोट नगरपालिकाका प्रमुख काशी बरालले भने, ‘जहाँ रहेका भएपनि हामी हाम्रा नागरिकको सुरक्षाप्रति गम्भीर छौं।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्