RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१३ गते
५४५ पटक

काठमाडौं – सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीभित्र पकड जमाउन अन्य नेताहरुलाई आ–आफ्नो पक्षमा फकाउन थालेका छन्। ओलीले माधवकुमार नेपाललाई पटकपटक बालुवाटार बोलाएर घण्टौं कुराकानी गर्न थालेका छन्। दाहालले पनि तीन दिनको बीचमा दुई पटक रामबहादुर थापा र उनी पक्षका नेतालाई खुमलटारस्थित निवासमा बोलाएर बैठक गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मात्र भेटिरहेका छन्। उनले नेपाल पक्षका अन्य नेतालाई भने भेटेका छैनन्।

राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेशमा गृहमन्त्रीसमेत रहेका थापाले ओलीलाई साथ दिएपछि दाहाल झस्केका छन्। त्यसैले दाहाल थापालाई फकाउन लागिपरेका हुन्। खुमलटार निकट स्रोतका अनुसार दाहालले थापा र उनको समूहका नेताहरु देव गुरुङ, पम्फा भुसाल, सूर्य सुवेदीलगायतलाई भेटेर आफ्नो धारणा राखेका छन्।

दाहाले मंगलबार बेलुका  थापासहित गुरुङ र भुसाललाई बोलाएर भेटेका थिए। उनले बिहीबार भने थापासहित गुरुङ भुसाल र सुवेदीलाई बोलाएर छफफल गरे। छलफलमा दाहालले अबदेखि पार्टी फुटाएर मोहन वैद्य पक्षमा गएको भन्ने दोषारोपण गरी थापा समूहसँग विभेद गरिने छैन भन्दै आत्मालोचना गरेका थिए।

उहाँहरूलाई खुमलटार बोलाइएको थियो। नेताहरूले खुलेर कुराकानी गर्नुभयो। समस्या आए मिलेर समाधान गर्ने कुरा भयो। दुवै पक्षबाट गल्ती भएका भए माफी गरौंैंसम्मका कुराकानी आए। अबदेखि पार्टीमा कसैलाई पनि मबाट विभेद गरिने छैन भनेर अध्यक्ष दाहालले भन्नुभयो’, स्रोतले दाहाललाई उद्धृत गर्दै भन्यो। थापाले पनि दाहालसँग खुलेरै कुरा राखेका थिए। ‘तपाईं पटकपटक मलाई गृहमन्त्रीबाट हटाउने खेलमा लाग्नुहुन्छ तर भेट्दा केही भन्नुहुन्न।

मबाट गल्ती भएको भए मलाई नै भन्नुस्। मन्त्रीबाट फिर्ता बोलाउनुस् तर हटाउने भन्दै किन हिँड्नुहुन्छ। यसबाट न  तपार्इंको हित हुन्छ न मेरो’, थापालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले राम्रो काम गरेको छैन भने सबैलाई हटाउने प्रस्ताव पार्टी बैठकमा लैजानुस् तर सरकारले गरेका कामको विषयमा पार्टीभित्रै छलफल नगरी बाहिर विरोध मात्रै गर्ने तरिका ठिक भएन।’

थापाले आफूविरुद्ध नियोजित प्रचारबाजी भएको भन्दै दाहाललाई केही नेताको घेराबन्दीबाट मुक्त हुन आग्रह गरेका थिए। ‘तपाईं सीमित नेताहरुको कुरा सुनेर हामीलाई विभेद गरिरहनुभएको छ। यो राम्रो पक्ष होइन। साथीहरुको मर्म र भावना तपाईंले पनि बुझ्नुपर्छ’, थापाले  भनेका थिए। जबाफमा दाहालले अबदेखि आफूबाट कमजोरी नहुने बताएका थिए।

‘मबाट पनि कमजोरी भए होलान्। अब सुधार हुनेछन्’, दाहालले सबैलाई समान दृष्टिले हेर्ने प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए। स्रोतका अनुसार दुवै नेताबीच अब एकले अर्कोलाई सहयोग गर्ने सहमति बनेको छ। थापा निकट केन्द्रीय सदस्य महेश्वर दाहालले नेताहरूबीच भेटघाट हुनु सामान्य भएको बताए। ‘उहाँहरुबीच भेटघाट हुनु नौलो कुरो होइन। यो समान्य नै हो’, दाहालले भने। थापा सधै पार्टी एकता पक्षमा रहेको र सरकार–पार्टी समन्वय आवश्यक रहेको भन्ने पक्षमा रहेको उनले बताए।

‘पार्टी एकतलाई मजबु्त बनाएर लैजानुपर्छ र सरकारले ल्याएका हरेक कामको विरोधका लागि विरोध गर्ने होइन, सरकारलाई रचनात्मक सहयोग पनि गर्नुपर्छ भन्ने उहाँ (थापा) को धारणा हो’, केन्द्रीय सदस्य दाहालले भने। www.nagariknews.nagariknetwork.com

प्रतिकृया दिनुहोस्