RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१४ गते
५८० पटक

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफैंले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ । कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गरी वितरण शुरु गरेको हो । उपकुलपति प्राडा.नन्दबहादुर सिंहले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश अस्पताल, सुरक्षा निकायका साथै सर्वसाधारण घरधुरीलाई विश्वविद्यालयले उत्पादन गरेका ९०० थान स्यानिटाइजर हस्तान्तरण गरे । विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको प्रयोगशालाबाट स्यानिटाइजर उत्पादन शुरु भएको छ ।

विश्वविद्यालयका उपकुलपति सिंहले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन स्यानिटाइजरको प्रयोग आवश्यक भएको बताए । बढ्दो मागसँगै बजारमा अभाव सिर्जना भएकाले विश्वविद्यालयले उत्पादन शुरु गरेको उनको भनाइ छ । ‘स्यानिटाइजर उत्पादनले विश्वविद्यालयलाई समुदाय र इण्डष्ट्री (उद्योग) सँग जोडेर उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धितर्फ अगाडि बढ्न हौसला मिलेको छ’, उनले भने, ‘सैद्धान्तिक र व्यवहारिक ज्ञानको सदुपयोग गर्न सकेपछि मात्र उच्च शिक्षाको सान्दर्भिकता रहन्छ ।’

त्यस्तै, विश्वविद्यालयले कर्णाली प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र उपचार कार्यमा आवश्यक परेमा ८०५ स्वयंसेवक परिचालन गर्न सकिने जनाएको छ । उपकुलपति सिंहले स्वयंसेवकको विवरण मुख्यमन्त्रीसमक्ष पेश गरिसकेका छन् । रजिष्ट्रार यमबहादुर कार्कीले लकडाउनको समय सदुपयोग गर्दै विश्वविद्यालयको प्राज्ञिक जनशक्ति प्रयोगात्मक, अनुसन्धानमूलक गतिविधिमा सक्रिय रहेको बताए । रासस….

प्रतिकृया दिनुहोस्