RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१७ गते
७२३ पटक

जुम्ला- जुम्ला तिला गाउँपालिका ९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुन् । उनी सुत्केरी हुने समय नजिकिदै गर्दा पोषिलो खानेकुराको जोहो गर्न थालेकी छिन् । नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले पोषिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी भइन् । उनले भनिन्,‘ गाउँमै बच्चा र आमालाई न्यानो कपडा पाउँदा निकै उत्साहित छु । अरुलाई पनि स्वास्थ्य संस्थामा पुग्नको लागि भन्छु, आफू पनि स्वास्थ्य संस्थामा पुगिरहेको छु । ’ उपाध्यक्ष बुढाले ‘सुनौलो हजार दिनभित्रका महिलासंग उपाध्यक्ष’ कार्यक्रम अन्र्तगत नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने महिलालाइ पोषिलो खाने कुरा उपलब्ध गराएकी हुन् ।

लकडाउनको समयमा गर्भवती महिलाले पोषिलो खानेकुरा पाउँदैनन्,उपाध्यक्ष बुढाले भनिन्, ‘यो समयलाई मध्येनजर गर्दै गर्भवतीलाई कोसेली स्वरुप पोषिलो खानेकुरा उपलब्ध गराएका हौँ ।’ एक जना गर्भवतीलाई  १ क्यारेट अण्डा, ५ किलो चामल र १ लिटर धारा तेल, बच्चालाई न्यानो कपडा र ब्लांकेट दिइएको हो । नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने, स्वास्थ्यकर्मीको सुझाव ग्रहण गर्ने र आफ्नो बच्चा र आफ्नो ज्यानको ख्याल राख्ने गर्भवती महिलालाई पहिलो चरणमा पोषिलो खानेकुरा प्रदान गरिएको हो ।

तिला गाउँपालिका स्वास्थ्य सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिका भित्रका ५० जना गर्भवतीलाई कोसेली प्रदान गरिएको हो । यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै गर्भवतीलाई कोसेली प्रदान गर्न उपाध्यक्ष बुढाको टोली गाउँटोलमा पुगेको थियो ।

उनले भनिन्,‘ स्थानीयको घरदैलोमा पुगरे गर्भवती आमालाई आवश्यक पिरमर्का दुःख पीडाका बारेमा समेत सहजीरण गरिन् । सुनौला हजार दिनको महत्वबारे शिक्षा दिँदै आमा र शिशुको स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन् । सासु ससुरा र विवाह गर्न योग्यका जोडीलाई पनि सुनौला हजार दिन महत्व र प्रभाव बारे बुझाउँदै आएको उपाध्यक्ष बुढा बताउँछिन् ।

गर्भ रहेदेखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र बालबालिकालाई लगाउनु पर्ने सबै प्रकारको खोप लगाउन आग्रह गरिन् । गर्भवती महिलालाई घरमा उपलब्ध स्थानीय अन्न गेँडागुडी, सागपात र पोषिलो चिज मिलाएर खान सुझाव दिइएको थियो । यो कार्यक्रम तिला गाउँपालिका ६ घोडे स्वास्थ्यचौकीबाट सुरु भएको थियो । गर्भवती अवस्थामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा समेत सहजीकरण गरिएको थियो । साबुनपानीले नियमित हात धुन, सेनिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कदा मास्क अनिवार्य रुपमा प्रयोग गर्न सो अवसरमा सुझाव दिइएको थियो ।

व्यक्तिबिच दुरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुने बताउँदै उपाध्यक्ष बुढाले गर्भवतीले आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिइन् । सरसफाईमा ध्यान दिने, खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्न र त्यसपछि प्रयोग भएको रुमालको उचित बिसर्जन गर्ने पनि आग्रह गरिएको थियो । यदि ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्ने उनले बताइन् । गाउँमै पुगेर गर्भवतीलाई कोसेली दिइएकोमा गर्भवती महिला खुसी भइन् ।  नागरिक दैनिकबाट ………..

प्रतिकृया दिनुहोस्