RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
११६४ पटक

रोजगारीका लागि विभिन्न मुलुकमा रहेका करिब पाँच लाख नेपाली मजदुरले स्वदेश फर्कन चाहेका छन् । कोरोना संक्रमणका कारण सम्बन्धित देशमा लकडाउन भएपछि धेरै कामदार रोजगारी गुमाएर अलपत्र छन् ।

विदेशमा अलपत्र परेका मजदुरबारे सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र गैरआवासीय नेपाली संघ (एनआरएनए)का छुट्टाछुट्टै तथ्यांक छन् । संघले विभिन्न मुलुकमा रोजगारी गुमाएका पाँच लाख कामदार स्वदेश फर्कने अवस्थामा रहेको जनाएको छ । एनआरएनले विदेशमा चार लाख नेपाली अलपत्र रहेकाले उनीहरूलाई तत्काल फर्काउन सुझाब दिएको छ । सरकारकै प्रारम्भिक अध्ययनमा पनि सवा दुई लाख कामदार तत्काल फर्काइहाल्नुपर्ने अवस्थामा रहेको देखिएका छन् ।

सर्वोच्च अदालतले पनि केही दिनअघि जोखिममा परेका कामदार फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । तर, अधिकांश मुलुकमा लकडाउन गरिएका कारण उनीहरूलाई तत्काल फर्काउन सकिने अवस्था नरहेको सरकारले जनाएको छ । ‘लकडाउन खुकुलो भएपछि कामदार फिर्ता गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको छ । इच्छुक सबै कामदारलाई फर्काउँदा व्यवस्थापनमा कठिनाइ हुन्छ । त्यसैले अलपत्र परेका कामदारलाई प्राथमिकता राखी फर्काउने विषयमा गृहकार्य हुँदै छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्