RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१८ गते
७५० पटक

कोरोनाभाइरस (कोभिड–१९) का कारण अर्थतन्त्र खुम्चिएपछि चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार स्थिर मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मुल्यमा २.२७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष ६.७५ प्रतिशत र त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा ६.३५ प्रतिशत वृद्धि भएको भएपनि चालू आर्थिक वर्षमा कोरोना भाइरसको महामारीको असरले नेपालको अर्थतन्त्र कमजोर बन्दा यसवर्षको वृद्धिदर प्रक्षेपण भन्दा ६.२३ र गत आवको भन्दा ४.४८ प्रतिशतले घटेर २.२७ प्रतिशतमा सीमित रहेको विभागले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । सुरुवाती समयदेखि नै सरकारले लक्ष्य भेटिने गरि काम नगरेको भन्दै सरकारको आलोचना हुँदै आए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्य अनुसार नभेटे पनि ६ प्रतिशत माथिको वृद्धिको आकलन गर्दै आएका थिए ।

तर पछिल्लो समय कोरोना महामारीले अर्थतन्त्र ठप्प भएपछि तीन वर्षदेखि हासिल गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा ब्रेक लागेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको अर्थतन्त्रको आकार चालू मुल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष कुल अर्थतन्त्र ३४ खर्ब ५८ अर्ब रुपैयाँ थियो । विभागले आथिक वृद्धिका १५ क्षेत्र मध्ये सबैजसो क्षेत्रमा सुस्तता आएको दाबी गरेको छ । विभागले सार्बजनिक गरेको तथ्याँक अनुसार कुल गार्हस्थ उत्पादनमा २८.२ प्रतिशत हिस्सा ओगट्ने प्राथमिक क्षेत्रको वृद्धिदर गत वर्षभन्दा न्यून हुने छ  ।

जसको सिधा असर अर्थतन्त्रमा परेको छ । यसमा कृषि तथा वन, मत्स्य र खानी उत्खनन् पर्दछन् । यद्यपि गत आर्थिक वर्ष ०७५-०७६ कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २६.९८ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा बढेर २७.०८ प्रतिशत  हुने देखिएको छ ।

उद्योग र निर्माणसहित समेटिएको द्वितिय क्षेत्रका हिस्सा अघिल्लो वर्षको १४.४७ प्रतिशतबाट घटेर १३.७२ प्रतिशतमा झर्ने छ भने सेवा क्षेत्रको हिस्सा ५७.७१ प्रतिशतबाट बढेर ५८.०८ प्रतिशत पुग्ने छ ।कारोबार दैनिकबाट …..

प्रतिकृया दिनुहोस्