RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१९ गते
८३२ पटक

काठमाडौं । पीसिआर प्रविधिबाट आजसम्म १२ हजार ५७७ नमुना स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (शुक्रबार) को नियमित प्रेस बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार आजसम्म आरडिटी प्रविधिबाट ४७ हजार ७९७ वटा नमुना स्वाब परीक्षण गरिएको छ ।

गएको २४ घण्टामा मात्रै १ हजार ४६१ वटा नमुना स्वाब परिक्षणहरु भएका छन् । अहिले २४ हजार ९०७ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ९४ जना रहेका छन् ।

त्यस्तै आज भेटिएका ६० वर्षीय कोरोना संक्रमित वृद्धलाई बाँकेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा ल्याइँदै छ । उनको भेरी अस्पतालमा गरिएको परिक्षणमा पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आजै संक्रमण पुष्टि भएका रुपन्देहीका २५ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा पोजिटिभ देखिएको छ । ती युवकलाई पनि अस्पतालमा ल्याइँदै छ ।

योसँगै कुल संक्रमित संख्या ५९ पुगेको छ,  जसमध्ये पुरुष ४९ र महिला १० जना छन् । निको भएर जानेको संख्या १६ पुगेको छ । ४३ जना उपचाररत छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्