RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
६८७ पटक

वैशाख २० गते । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाधम भइरहेको छ । त्यहाँ कार्यरत मजदुर तथा प्राविधिक र आवश्यक सामग्रीहरू मौज्दातमा राखिएकाले बन्दाबन्दीको असरले आयोजनालाई छोएको छैन ।
आयोजनाको मुहानस्थल सुर्खेतको भेरी गङ्गा नगरपालिकाको चिप्लेमा अहिले दोस्रो चरणको कामअन्तर्गत ड्याम, हेड वर्क र पावर हाउस निर्माणका काम धमाधम भइरहेको छ । पहिलो चरणमा पर्ने सुरुङ खन्ने काम २०७५ वैशाख १ गते नै भइसकेको छ । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम)बाट १२ किमी सुरुङ खनिएको छ ।
सुरुङको ब्रेक थ्रुपछि अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ । अहिले मुख्य गरी पानीको बहाव फर्काउने कफर ड्यामको काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बन्दाबन्दीको समयमा पनि मेसिनले गर्ने काम धमाधम भएको बताउनुभयो । उहाँका अनुसार आयोजनाको सुरुङ मार्ग खनिएपछि दोस्रो चरणअन्तर्गत हेडवर्क र पावर हाउसको काम भइरहेको छ । इन्जिनियर पण्डितले आयोजनाको ४० प्रतिशत काम सकिएको बताउनुभयो ।

आयोजनामा ७० मजदुर
बन्दाबन्दीको अवधिमा करिब ७० जना मजदुरले सुरक्षा सावधानी अपनाएर काम गरिरहेका छन् । इन्जिनियर पण्डितले बन्दाबन्दीअघि मौज्दातमा राखिएका सामान र मजदुरहरूबाट अहिले बन्दाबन्दीका बेलामा पनि धमाधम काम भइरहेको बताउनुभयो । मजदुरहरूलाई खाने बस्ने सुविधाभित्रै गरिएको छ । धेरैजसो काम मेसिनबाटै भइरहेको छ । मेसिनसँग सम्बद्ध मजदुरहरूलाई सावधानी अपनाएर काम गर्न आग्रह गरिएको जानकारी उहाँले दिनुभयो ।

मौज्दात सामग्री सकिँदै
आयोजनाको मौज्दातमा राखिएका सामानहरू काम गर्दै जाँदा सकिन लागेको छ । बन्दाबन्दीको करिब डेढ महिनासम्म ती सामानहरूबाट काम भइरहेको र नयाँ सामानहरू ढुवानी नहुँदा अब भने काममा असर पर्न सक्ने सम्भावना देखिएको छ । सुरुङ मार्ग सम्पन्न गर्न, क्याम्प निर्माण, क्रसर प्लान्ट, ब्याचिङ प्लान्टको काममा अब भने केही असर पर्ने देखिएको उहाँको भनाइ छ ।गोरखापत्र अनलाइनबाट …………….

प्रतिकृया दिनुहोस्