RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/११ गते
५१९६ पटक

माघ ११,  दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवा दिन सरकारले गरेको लगानी पदाधिकारीका लागि कमाउ धन्धा चलाउने भाँडो भएको छ ।  कुरा जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हो ।

प्रतिष्ठानले जाजरकोटमा सञ्चालन गरेको डिप्लोमा तह फार्मेसी कक्षामा प्रवेश परीक्षा फेल भएका दुई जना विद्यार्थीलाई भर्ना गरेको पाईएको छ । यसै वर्षदेखि सुरू भएको फार्मेसी कार्यक्रममा प्रवेश परीक्षा नै फेल भएका एक छात्र र एक छात्रा भर्ना भएको थाहा भएपछि कसले कसरी भर्ना गर्याे भन्ने खोजी गरिन थालिएको छ ।

प्रतिष्ठानले कसरी विद्याथी भर्ना गर्यो ? जाजरकोटमा फार्मेसी कक्षा सञ्चालन भैरहेको विद्यालयमा बुझ्दा प्रतिष्ठानमा कार्यरत डा. विशाल पोखरेल र …. भर्ना गराएको खुल्न आएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

प्रवेश परीक्षा फेल भएका विद्यार्थीलाई भर्ना गराउनेलाई कारवाहि गरिने भनेपनि अहिले सम्म प्रतिष्ठानले कुनै कारवाहि प्रकृया अगाडी बढाएको छैन । उल्टै प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्ले र रजिष्ट्रार विश्वराज काफ्ले घटनाको ढाकछोप गर्न लागि परेका छन् । ‘उपकुलपति वाग्ले र रजिष्ट्रार काफ्ले सामान्य विषय हो, भुलवस त्यस्तो हुन सक्छ भन्दै पन्छिएका छन् ।’ प्रतिष्ठानमै कार्यरत एक कर्मचारीले भने ।

फेल भएको विद्यार्थी भर्ना गरेको विषय प्रतिष्ठानभित्रै छताछुल्ल भइसकेपनि उपकुलपति र रजिष्ट्रार घटनालाई ढाकछोप गर्न उद्यत छन् ।

यता प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले विद्यार्थी भर्ना गर्नेलाई कारवाहिको लागि लिखित स्पष्टिकरण माग्दा उनिहरूले आफुहरूले भर्ना नगरेको बताएको जिकिर गरे । उनले घटनाको उच्च स्तरिय छानविन समिति गठन गरि छानविन गरिने बताए ।

प्रतिष्ठानका डिन प्रा.रेशम राना भने यस विषयमा केही वोल्न चाहँदैनन् । फेल भएका विद्यार्थी पदाधिकारीकै मिलेमतोमा पास भएको हुन सक्ने भएकोले प्रतिष्ठानका शिक्षक कर्मचारी खुलेर कुरा गर्दैनन् ।

प्रतिष्ठानमा फेल भएका विद्यार्थी पास गर्ने, भर्ना गराउने कृयाकलाप पहिलो पटक भएको हैन । यस अघिपनि प्रतिष्ठानले हेल्थ असिस्टेन्टको पहिलो व्याज भर्नाको बेला पनि प्रवेश परीक्षाको प्रश्नपत्र नै आउट गरिएको थियो ।

प्रतिष्ठानमा कर्मचारी, नर्स भर्ना प्रक्रियामा ठूलो चलखेल हुने गरेको छ । पदाधिकारीहरुले कर्मचारी नर्स भर्नामा काठमाडौं, जुम्ला दुई स्थानमा फरकफरक प्रश्न तयार पार्ने आफन्त, पार्टीका कार्यकर्ता भर्ना गर्ने कार्य गर्दै आइरहेपनि कतैबाट छानविन र कारवाही हुन सकिरहेको छैन ।

काउन्सिल फेल डाक्टरलाई भर्ना

प्रतिष्ठानले नेपाल मेडिकल काउन्सिल फेल भएका एक डाक्टरलाई पनि कर्मचारी भर्ना लिएको छ । प्रतिष्ठानको पब्लिक हेल्थ शिक्षकमा मेडिकल काउन्सिलको परीक्षा नै पास नगरेका डा. विशाल पोखरेललाई कर्मचारी नियुक्ति गरिएपछि प्रतिष्ठानमा पदाधिकारीहरुको चर्को विरोध भइरहेको छ ।

यस विषयमा प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसँग कुरा गर्न उनको मोवाइलमा पटकपटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । शिक्षा मन्त्रालयका एक अघिकारीले प्रतिष्ठानले फेल भएका विद्यार्थीलाई पास गराएको भए आवश्यक छानविन र कारवाही हुने बताए ।

makalukhabar.com बाट साभार

प्रतिकृया दिनुहोस्