RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२३ गते
५९१ पटक

सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्म ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई सो रकम निकासा दिएको हो ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैशाखसम्म स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड र स्वास्थ्य उपकरण खरिद्का लागि रक्षा मन्त्रालय अन्तर्गत खर्च गर्ने गरी २ अर्ब ३४ करोड निकासा दिएको बताए ।

यस्तै, उनले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका कोषमा हालसम्म २ अर्ब २० करोड जम्मा भएको जसमा नेपाल सरकारले ५० करोड योगदान गरेको पनि बताए । कोषमा भएको रकम आवश्यकता अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले गरेको सिफारिस अनुसार निकासा दिने गरेको उनले बताए ।

समितिको बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणका कारण अन्तराष्ट्रिय सिमा नाका बन्द हुनुका साथै लकडाउनका कारण राजश्व उठाउन दबाब बढेको भन्दै चालु आर्थिक बर्षकोसुरु देखिनै दबाबमा रहेको राजस्व संकलनमा कारोना संक्रमणका कारण चैत मसान्तसम्ममा लक्ष्यको जम्मा ८० प्रतिशत मात्रै संकलन भएको बताए ।

अर्थमन्त्री खतिवडाले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि अन्तर्राष्ट्रिय सहायता वापत डेढ खर्ब रुपैयाँ बराबरको रकम सम्झौता भएको जानकारी दिदैं अर्थतन्त्रमा परेको प्रभाव परिपूर्तिका लागि सो रकम परिचालन गर्ने पनि बताए । यस्तै, उनले कोरोनाको कारण चालु आर्थिक बर्षको बजेट खर्चमा चाप परेको बताए ।

जसका कारण चैतसम्ममा चालुतर्फ लक्ष्यको ४ सय ८८ अर्ब अर्थात ५१ प्रतिशत र पुँजीगततर्फ १ सय ५ अर्ब अर्थात २६ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ८४ अर्ब अर्थात ५० प्रतिशत मात्रै बजेट खर्च भएको बताए । साथै उनले २० अर्ब रुपैयाँ बजेट सरेन्डर भएको पनि बताए । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्