काठमाडौँ, वैशाख २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी, अस्वस्थता र अल्पविकसित अवस्था विरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभिनुपर्ने बताउनुभएको छ ।
उहाँले विद्रोह तथा लडाइँमा संलग्न हुने यो समय नभएको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई समर्थनसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रूमबाट असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले अजरबैजानमा आयोजित अनलाइन शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष गरी अतिकम विकसित, भूपरिवेष्ठित राष्ट्रहरू तथा साना विकासोन्मुख टापु राष्ट्रहरूमा कोभिड–१९ को प्रभाव असीमित रहेको चर्चा गर्नुभयो ।
“यो सङ्कटले विकासोन्मुख राष्ट्रप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्नुहुँदैन । ” उहाँले भन्नुभयो, “सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुनस्र्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरूले सहकार्य र वकालत गर्नुपर्छ । ”
प्रधानमन्त्रीले विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न राष्ट्रहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभव साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणहरूको आदानप्रदानको माध्यमबाट दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले असंलग्न आन्दोलनले सदस्य मुलुकहरूका सहयोगी कार्यमा समन्वय गर्नुपर्नेमा सबैको ध्यान आकृष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वव्यापी ऐक्यबद्धताको भावनाअनुरूप विश्वभरिका गरिब तथा अति जोखिमयुक्त जनसङ्ख्याको आवाजलाई एकीकृत पार्नुपर्छ । ” उहाँले असंलग्न्न राष्ट्रहरूको कार्यटोली (टास्क फोर्स) गठनको स्वागतसमेत गर्नुभयो ।गोरखापत्र अनलाइनबाट