RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३० गते
७१५ पटक

राजन रावतका अनुसार हुम्लाका बासिन्दा यसपटक यार्सा टिप्न जान पाएनन् । बझाङ र डोल्पाका पाटनमा यार्सा टिप्न जाने गर्दथे । नाम्खा गाउँपालिका–१ का उत्तम लामाले बझाङ जाने तयारी गरे पनि स्थानीय सरकारले यार्सा सङ्कलन कार्य बन्द गरेको सूचना पाएपछि जान नपाएको गुनासो गर्नुभयो ।
हुम्लाका युवाले बर्सेनि सरदर पाँचदेखि २० केजीसम्म यार्सा सङ्कलन गर्ने गरेको यार्सा व्यापारी टेकबहादुर लामाले बताउनुभयो ।
उहाँका अनुसार हुम्लाका युवाले मात्र कम्तीमा तीन करोड रुपियाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ ।
यार्सागुम्बाको खानीका रूपमा मानिएको डोल्पामा कोरोना भाइरस सङ्क्रमणकै कारण सङ्कलन कार्यलाई सर्वपक्षीय बैठकले बन्द गर्ने निर्णय गरेको छ । डोल्पाकी यार्सा व्यापारी निरू चलाउनेका अनुसार डोल्पाका पाटनहरूमा यार्सा उम्रिसकेको छ ।
उहाँले डोल्पावासीको मुख्य आम्दानीको स्रोत नै यार्सा भएको बताउँदै यर्सा सङ्कलन गर्न नपाउने भएपछि जीविकोपार्जनमै असर पुग्ने बताउनुभयो । विगतमा यतिबेला विद्यालयसमेत बन्द गरेर अग्ला पाटनमा यार्सा टिप्नेहरूको भीड लाग्ने गथ्र्याे, उहाँले थप्नुभयो– हेलिकोप्टर चार्टर्ड गरेर व्यापारीहरू पाटनमै पुग्ने गर्थे तर अहिले पाटन सुनसान बनेका छन् ।
पाटन सुनसान
जुम्ला समाचारदाता नेत्र शाहीका अनुसार यार्सा टिप्न रोक लगाइएपछि कर्णालीका पाटन खाली देखिएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका लगायत स्थानका बासिन्दाहरू घरमा ताल्चा लगाएर सपरिवार यार्सा टिप्न पाटन जान्थे । गुठिचौर गाउँपालिका–३ का लिबहादुर बुढाले कुनै पनि व्यक्तिले बर्सेनि कम्तीमा ५० हजारदेखि एक लाख रुपियाँसम्म कमाउने गरेकोमा यो वर्ष रोकिएको बताउनुभयो । जुम्लाको साना हाँका, ठूला हाँकाका साथै डोल्पाको कागमारा र घनसा पाटनमा जुम्ला, डोल्पा, जाजरकोट, दैलेख, कालीकोट, रुकुमका हजारौँ मानिस यार्सा टिप्न जान्थे ।
पातारासी गाउँपालिका–४ का मुनबहादुर बुढा बर्सेनि पाटन जाने गरेकोमा यो वर्ष रोक लगाइएकाले जान नपाएको गुनासो गर्नुभयो । मुगुको कार्मारोङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत तीर्थराज शाहीले यार्सागुम्बा सङ्कलन र निकासीमा पूर्ण रोक लगाइएको सूचना जारी गर्नुभएको छ । मुगुको सुरक्षा समितिले यार्सा टिप्न रोक लगाउने निर्णय गरिसकेको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट

प्रतिकृया दिनुहोस्