RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३१ गते
९२७ पटक

अर्थतन्त्रको आकार सानो भए पनि आर्थिक वृद्धिका हिसाबले सुदरपश्चिम प्रदेश अगाडि देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिमले यो वर्ष ४.०८ प्रतिशत वृद्धि हासिल गर्नेछ । वृद्धिदरका हिसाबले योे सबैभन्दा उच्च हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार बढेर २ खर्ब ७२ अर्ब रुपैयाँ पुग्ने विभागको अनुमान छ । अघिल्लो वर्ष यस्तो रकम २ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो । गत वर्ष राष्ट्रिय अर्थतन्त्रमा ७.०२ प्रतिशत हिस्सा ओगटेको यो प्रदेशका यो वर्ष ७.२१ प्रतिशत रहने विभागले प्रक्षेपण गरेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान ३६.८२ प्रतिशत छ भने सबैभन्दा कम योगदान खानीको ०.५१ प्रतिशत रहेको छ ।आर्थिक वृद्धिका हिसाबले सुदूरपश्चिमपछि कर्णाली प्रदेश अगाडि देखिएको छ ।
क्षेत्रफलका आधारमा ठूलो र अर्थतन्त्रको आकारका दृष्टिकोणले ज्यादै सानो मानिने कर्णाली प्रदेशको यस वर्षको आथिक वृद्धिदर गत वर्षको वृद्धिदरमा करिब आधाले संकुचन आई ३.५८ प्रतशतमा सीमित हुने बताईएको छ । राष्ट्रिय अर्थतन्त्रमा ४.१६ प्रतिशत हिस्सा रहेको यो प्रदेशको अर्थतन्त्रको आकार बढेर १ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।कर्णालीपछि प्रदेश नं १ बलियो देखिएको छ । प्रदेश १ ले यस वर्ष ३.४१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने छ । गत वर्ष राष्ट्रिय अर्थतन्त्रमा १५.७३ प्रतिशत हिस्सा ओगटेको यो प्रदेशले यसवर्ष १५.८२ प्रतिशत हिस्सा ओगट्ने छ ।
सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३७.१४ प्रतिशत रहेको यो प्रदेशको अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यका आधारमा ५ खर्ब ९६ अर्ब रुपैयाँ हुने अनुमान विभागले गरेको छ ।प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा माथि देखिए पनि आर्थिक वृद्धिदरका हिसाबले भने यो प्रदेश कमजोर देखिएको छ ।
चालू आर्थिक वर्ष ३७ खर्ब ६८ अर्ब रुपैयाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेकोमा बागमती प्रदेशको मात्रै योगदान सबैभन्दा बढी ३५ प्रतिशत छ ।
औसत जीडीपी वृद्धिदर २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिए पनि बागमती प्रदेशको आर्थिक वृद्धिदर १.२३ प्रतिशतमा सीमित हुने विभागले जनाएको छ । यो क्षेत्रमा होटल तथा रेष्टुराँ क्षेत्रको योगदान बढी भएका कारण संकुचन देखिएको हो । विभागका अनुसार अर्थतन्त्रको आकार ५ खर्ब ३४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको प्रदेश नं ५ को वृद्धिदर  पनि घटेर २ प्रतिशतमा सिमित हुने छ ।कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्