RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३१ गते
६९३ पटक

कोरोना महामारीका बीच पार्टीभित्र चर्किएको किचलो व्यवस्थापन नहुँदै भारतसँगको सीमा विवादको मुद्दा सतहमा आएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्थायी कमिटी बैठक बोलाएका छन् ।

नीति तथा कार्यक्रम र बजेटअघि स्थायी कमिटी बोलाउने/नबोलाउने मात्रै होइन, २४ वैशाखमा बसेको सचिवालय बैठकले छलफलका एजेन्डा नै तय गर्न नसकेपछि २५ वैशाखका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । तर, बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट तथा भारतसँगको पछिल्लो सीमा विवादसम्बन्धी दुई एजेन्डामा मात्र छलफल गर्ने मंगलबार सहमति भएपछि ओली र प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

दुई अध्यक्षबीच मंगलबार भएको टेलिफोन वार्ता र महासचिव विष्णु पौडेलको गृहकार्यपछि बैठक बोलाइएको छ । ओली र प्रचण्डले भारतसँगको सीमा समस्या र स्थायी कमिटी बैठक र सम्भावित एजेन्डामा केन्द्रित रहेर आइतबार र सोमबार पनि छलफल गरेका थिए ।

महासचिव पौडेलले थप एजेन्डा तय नभएसम्म दुई विषयमा मात्र छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको बताए । उनका अनुसार सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट तथा सीमा समस्यालाई मात्र बुधबार बस्ने बैठकको कार्यसूची बनाइएको छ । ‘बुधबारका लागि ती दुई एजेन्डामा मात्र छलफल हुन्छ,’ उनले भने, ‘बाँकी एजेन्डा अनौपचारिक गृहकार्यपछि तय गरेर मात्र अर्को बैठक बस्छ,’ पौडेलले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्