RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
९५१ पटक

बेइजिङ – विश्वमै सबैभन्दा धेरै मानवले आवतजावत गर्ने चिनियाँ वसन्त चाडमा नोवल कोरोना भाइरसको संक्रमणका कारण यो पटक निकै कमले यात्रा गरे। यस चाडको अवधिमा झन्डै ४ कराेड चिनियाँले यात्रा गर्ने अनुमान थियो तर चाडको दुई दिनअगाडि बेइजिङ नगरपालिकाले बेइजिङका विभिन्न भागमा लाग्ने मेला रद्द गरिदियो।

बेइजिङको केन्द्रभागमा पर्ने तिथानमा लाग्ने मुख्य मेलासँगै मान्छेको भिड लाग्ने ठाउँहरु ग्रेटवाल, फर्बिडन सिटी र चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडका अवसरमा बेइजिङमा आयोजना हुने टेम्पल फेयरहरु सबै रद्द भए। लाखौं मानिस भेला भएर सात दिनसम्म चल्ने यस्ता मेलाको प्रवेश शुल्क,

त्यहाँभित्र हुने मनोरञ्जनात्मक खेललगायतबाट करोडौंको आर्थिक कारोबार हुने गथ्र्यो। यात्रा गर्न लिइएका रेल र हवाइजहाजका टिकर रद्द गरिएका छन् भने होटल बुकिङ पनि सबै रद्द भएका छन्। रद्द गर्दा सम्बन्धित व्यक्तिले सबै रकम फिर्ता पाउने व्यवस्था चीन सरकारले गरेको छ। समग्रमा यो वसन्त चाडबाट चीनलाई ठूलो आर्थिक क्षति पुगेको छ।

कोरोना भाइरसका पीडितको उपचार गर्न उहानमा दुई सातामै चीनले अत्याधुनिक अस्पताल तयार पार्न काम सुरु गरिसकेको छ। उहानबाटै नेपाल फर्किएका एकजना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तको नेपालीले चिन्ता गर्न थालेका छन्। तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले नागरिकसँग आफूहरु सुरक्षित रहेको बताएका छन्।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्