RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१८ गते
६५१ पटक

काठमाडौं। हालसम्म देशका विभिन्न अस्पतालहरूमा एक हजार ३३९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म देशैभरका अस्पतालका आइसोलेसनमा एक हजार ३३९ संक्रमितको उपचार भइरहेको बताए ।

प्रवक्ता देवकोटाका अनुसार सबैभन्दा धेरै प्रदेश २ र ५ प्रभावित हुन पुगेको छ। २ नम्बर प्रदेशमा संक्रमितको संख्या ६२४ पुगेको छ। तीमध्ये एकजनाको मृत्यु भएको छ भने १०४ जना डिस्चार्ज भएका छन्। अहिले ५१९ जना बिरामी आइसोलेसनमा उपचाररत छन्। त्यस्तै प्रदेश ५ मा संक्रमितको संख्या ५६० पुगेको छ। त्यहाँ तीनजनाको मृत्यु भएको छ भने ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। हाल ५०९ जना आइसोलेसनमा उपचाररत छन्।

प्रदेश १ मा कूल संक्रमित १६५ मध्ये ३० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने अहिले १३५ जना आइसोलेसनमा छन्। कर्णाली प्रदेशमा १२३ जना संक्रमित छन्। एकजनाको मृत्यु भएको छ भने अहिले १२२ जना आइसोलेसनमा छन्।

बागमती प्रदेशमा ४५ जना संक्रमित भेटिएकामध्ये दुईजनाको मृत्यु भएको छ भने २९ जना डिस्चार्ज भइसकेका छन्। अहिले १४ जना आइसोलेसनमा छन्। सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमितमध्ये एकजनाको मृत्यु र ६ जना डिस्चार्ज भएका छन्। २० जना आइसोलेसनमा रहेका छन्।

गण्डकी प्रदेशमा २३ जनामा संक्रमण पुष्टि भएको छ। तीनजना डिस्चार्ज भएका छन्। २० जना अहिले आइसोलेसनमा रहेका छन्। हालसम्म संक्रमितमध्ये देशैभर ८ जनाको मृत्यु भएको छ भने २२० जना डिस्चार्ज भएर घर फर्किएका छन्।

एक लाख १९ हजार १९२ जना क्वारेन्टाइनमा :

यसैगरी देशैभरका क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ जना पुगेका प्रवक्ता देवकोटाले बताए । उनका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा क्वारेन्टाइनमा ३५ हजार १४७ जना रहेका छन्।

प्रदेश ५ मा ३५ हजार, प्रदेश २ मा १९ हजार ९८३, कर्णाली प्रदेशमा १९ हजार ५८९, गण्डकीमा ३ हजार ५५४, प्रदेश १ मा ३ हजार ५३६ र बागमती प्रदेशमा २ हजार ४२३ जना क्वारेन्टाइनमा रहेका छन्। देशैभर बनाइएका क्वारेन्टाइन बेडसंख्या भन्दा पनि धेरै मानिस अहिले क्वारेन्टाइनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्