RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२६ गते
७२५ पटक

पोखरा, जेठ २६ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आउनुभएको थियो । मृगौला, सुगरलगायतका रोगका बिरामी भएका कारण कोरोना सङ्क्रमण हुनुपूर्व तत्कालै पोखरा पठाएर प्रिआइसाेलेसनमा राखिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।
भारतबाट श्रीमतीसहित आएका ती व्यक्तिको स्वास्थ्यमा अन्य समस्यासमेत भएकाले पोखरा ल्याएर प्रिआइसाेलेसनमा राखिएको र सङ्क्रमण पुष्टि हुँदा साथ आइसाेलेसनमा राखेर उपचार गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
बाहिरबाट आउनेलाई कही कतै सम्पर्कमा आउन नदिई स्थानीय तहहरूले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने गरिए पनि उहाँलाई वालिङबाट पोखरा ल्याइएकाले त्यो बीचमा सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको निर्देशक शर्माले बताउनुभयो । भारतको राजधानी दिल्लीमा बस्दैआएका ती व्यक्ति श्रीमतीसहित विभिन्न सवारी साधनमार्फत नेपाल-भारत सीमा सुनौलीसम्म आएको र त्यहाँबाट गाडी रिजर्भ गरेर वालिङ आएको नगरपालिकाले जनाएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले ती व्यक्तिकी श्रीमती, सुनाैलीदेखि स्याङ्जासम्म ल्याउँने सवारी साधन, स्याङ्जाबाट पाेखरासम्म ल्याउने सवारी, याे बीचमा उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूकाे आइतबारबाटै खाेजपड्ताल सुरु गरेकाे जनाएकाे छ ।गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्