RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२६ गते
१२८७ पटक

लम्की, जेठ २५ गते । कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । आइतबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ९४५ जना नेपाली नेपाल भित्रिएका छन् भने उक्त नाकाबाट ४५३ भारतीय नागरिकसमेत भारत बाहिरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार आइतबार गड्डाचौकी नाकाबाट ५१५ नेपाली भित्रिएका छन् भने १६३ भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रबेश गर्नेको सङ्ख्या घट्दैगएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या शनिबारको तुलनामा थोरै घटेको छ । सशस्त्र प्रहरी कार्यालय ३४ नम्बर वाहिनी कैलालीका अनुसार उक्त नाकाबाट चार हजार ४३० नेपाली नागरिक भित्रिएका छन् भने २९० भारतीय नागरिक बाहिरिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब ९५ हजार नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या १२ हजार बढी पुगेको छ ।
जेठ शुरुदेखि खुला भएको गौरीफन्टा नाकाबाट हालसम्म भित्रिनेको सङ्ख्या ७० हजार बढी पुगेको छ भने बैतडीको झुलाघाटबाट करिब दुइ हजार भित्रिएका छन् । त्यसैगरी कञ्चनपुरको गड्डाचौकी नाकाबाट हालसम्म भित्रिनेको सङ्ख्या करिब २३ हजार पुगेको जनाइएको छ ।

गोरखापत्र अनलाइनबाट साभार

प्रतिकृया दिनुहोस्