RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२९ गते
१३८६ पटक

आयातको सम्पूर्ण प्रक्रिया पूरा भए पनि एक लाख टन रासायनिक मल बाटोमै रोकिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भारतबाट मल आयातको प्रक्रिया अघि बढाएको थियो । केही मल आयातको क्रममा रहे पनि भारतीय पक्षले असहयोग गर्दा मल आयात असहज बनेको बताएको छ ।
भारतमा लकडाउन भएपछि कोलकाता बन्दरगाहमा नेपालको मल ब्यागिङ र लोड÷अनलोड बन्द हुँदा मल रोकिएको थियो । लकडाउन खुकुलो भएसँगै आयात प्रक्रिया सहज भए पनि अझै ढिलाइ भइरहेको जनाइएको छ । गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय टन युरिया मल १ महिना १५ दिनदेखि रोकिएको मन्त्रालयले जनाएको छ ।

कोलकाता बन्दरगाह बन्द भएकाले डेढ महिनापछि ५० हजार टन मल कान्डला बन्दरगाहबाट भित्र्याउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । जेठ पहिलो साता आइपुग्नुपर्ने मल लडकाउन खुकुलो भएपछि प्रक्रिया अगाडि बढाइए पनि आइपुग्न भने अझै डेड महिना लाग्नेछ । “मन्त्रालयले रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार सम्पूर्ण काम समयमै पूरा गरिसकेको भए पनि १ लाख टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएकोे छ,” मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने, “यति हुँदाहँुदै पनि गत आर्थिक वर्षको तुलनामा यसवर्ष कुल परिमाणमा २५ हजार टनभन्दा बढी मल आयात तथा वितरण गरिसकिएको छ र लक्ष्यअनुरुप प्रक्रियामा रहेका रासायनिक मल समयमै आयात गर्ने सबैखाले प्रयास भइरहेको छ ।”
मन्त्रालये बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कृषि, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुताबासको निरन्तर कुटनीतिक प्रयासका गरे पनि ढिलाइ भएको जनाएको छ । धान, मकै र गहुँका लागि आवश्यक पर्ने रासायनिक मल हरेक वर्ष आयात गरिदै आइएको छ । “यो वर्ष मल सहज रुपमा मल आपूर्तिका लाति समयमै सबै प्रक्रिया पुरा भइसकेको अवस्था छ,” मन्त्रालयका सचिव भारीले भने, “लकडाउनका कारण केही ढिला भएको छ तर अभाव हुन नदिन प्रयास गरिरहेका छौं ।”
भारीले मल अभाव हुन्छ भन्ने हल्लाका कारण किसानल अर्को सिजनका लागि आवश्यक पर्ने मल पनि भण्डारण गर्न थालेपछि मलको माग अत्यधिक भएको बताए । “मल अभाव हुन दिइँदैन, किसानहरुलाई मल स्टक नगर्न हामी अनुरोध गर्दछौं,” उनले भने, “चालू आवमा ४ लाख ५० हजार टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने कार्यक्रम छ, यो गत वर्षको भन्दा एक लाख टन बढी हो ।”
रासायनिक मल युरिया, डीएपी र पोटासमध्ये कृषकहरुको बढी रोजाइमा युरियामात्र पर्ने गरेको छ । तर युरिया मलमात्र धेरै प्रयोग गर्दा माटोको गुणस्तर बिग्रने र मलबाट प्राप्त हुने फाइदा पनि कम हुने कुरालाई ध्यानमा राख्दै तीनवटै प्रकारका रासायनिक मल सन्तुलित मात्रा मिलाएर प्रयोग गर्न अनुरोध गरिएको छ ।
विज्ञप्तिमा मल अभावको विद्यमान अवस्थामा केही डिलर÷सहकारीहरुले बढी मूल्य लिई रासायनिक मल बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले कानून विपरितको त्यस्तो कार्य नगर्न र अटेर गरी यस्ता कार्य जारी राखेमा प्रचलित कानुनवमोजिम कडा कारबाही हुने मन्त्रालयले उल्लेख गरेको छ ।कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्