RaraNews

मोतीराज बम प्रकाशित : २०७७/३/५ गते
८२५ पटक
मोतीराज बम

सभामुख महोदय,
खाटी जुम्ली हो गजेन्द्र महत ।

हेर्नुहोस, उसको अनुहारमा
अविश्रान्त बग्छ कर्णाली
हेर्नुहोस, उसको शरीरमा
मगमग बसाउछ मार्सिको चामल
हेर्नुहोस, उसका निधारका रेखाहरु
हो,
तिनै निधारका धमिला धर्साहरु छिचोलेर
ताक्लाकोट जाने बाटो रेखाङ्कन गरिएको हो ।

उसले लगाएको टोपीको प्वालबाट
बाहिर निस्किएको ध्वासे टुपी
टुपी होइन सभामुख महोदय
त्यो, चन्दननाथको ध्वजा हो
त्यो, भैरवनाथको पताका हो ।

ऊ जन्मिदा
सल्ली पिरलको बिछ्यौना माथि
निगालोको दीयो सल्काएर हेरेकी थिइन
उसकी सुत्केरी आमाले
पहिलो पल्ट
त्यतिबेला पनि ऊ
यसरी नै चिच्याउथ्यो गोठको कुनामा ।

उसको आवाजले
पटकपटक भनिरहेको छ
खै ! कहाँछन् ? डोरबहादुर बिष्ट
तिनैले हो चौधबिसमा
पहिलो पटक उज्यालो रोपेको
र सीप उमारेको ।

तपाई बुझ्नु हुन्छ कि बुझ्नु हुन्न
उसको जिब्रोको भाषा र आँखाको लय
ऊ भन्छ
म नुन माग्छु
तिमी सुन लुकाउछौ
म “बजो” भन्छु
तिमी बजेटको उच्चाट लाग्दो ब्याख्या गर्छौ
हो, त्यसैले
मत मिल्दैन उसको र तपाईंको ।

तपाई भव्य महलको
पर्फ्युम पसलबाट निस्किदा
ऊ सिउदै थियो भेडाको लुकाल
ऊ बोक्दै थियो बाख्राको मल
जुतो पखालिएको छैन अझै
उसको आङबाट
गन्हाउन सक्छ ऊ सदनमा
उसलाई छुट्टै ब्यबस्थाहोस बस्नलाई
तपाईंको ग्यालरी बैठकमा ।

ऊ,
जहाँ छ त्यहीँबाटै
बोल्छ बिद्रोह
खोज्छ न्याय
प्रक्षेपण गर्छ वायुसरी
तपाईंको कुर्ची हल्लाउने
शब्दबाणहरु ।

उसले बन्दुक समायो हिजो
हामीले अर्कै सम्झ्यौ
उसलाई,
हत्यारा भन्यौं
आतंककारी भन्यौं
मुर्ख, महामुर्ख भन्यौं
स्वाठ, बज्रस्वाठ भन्यौं
के के भन्यौं भन्यौं त्यो बेला ।

उसको बिद्रोह
उसको चेतना
उसको उद्वेश्य
उसले रोजेको पथ
उसले खोजेको सामाजिक समानता
बल्ल बुझ्दैछौ हामी ।

उसले,
कल्पबृक्ष ठानेको सपनाको युद्ध
बिषबृक्ष बनेर सल्बलाउन थाल्दा
तर्सिएको छ ऊ/ झस्किएको छ ऊ ।

पुग्नुपर्ने ठाउँ नपुगेपछि
गर्नुपर्ने काम नगरेपछि
हिनताबोध भएको छ उसलाई ।

सभामुख महोदय,
अब अन्त्यमा
उसले,
केही मागेकै होइन तपाईंसंग
आफ्नो मताधिकार खोजेको हो
जनाधिकार खोजेको हो
अलि अग्लो भयोहोला उसको आवाज
किन ! बग्दैन कर्णाली उभो
किन ! बगाउँदैन कर्णाली कहर
किन ! कोरिन्छन बिभेदका रेखा
कर्णाली माथि
किन ! रोपिन्छ जहरको बीउ
कर्णाली वरपर
मात्र जान्न चाहेको हो
मात्र जवाफ खोजेको हो ।

प्रतिकृया दिनुहोस्