RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/१२ गते
५६६ पटक

जुम्ला : कोरोनाको महामारीकै बीचमा पनि जुम्लाका धार्मिक कार्यले निरन्तरता पाएका छन्‌। तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट कर्मचारी नेतृत्वमा पूजाआजा गर्ने टोली बडिमालिकातर्फ प्रस्थान गरेको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका खरिदार हरिहर काफ्ले नेतृत्वमा ५ जनाको टोली र भक्तालुहरु बडिमालिकातर्फ प्रस्थान गरेका हुन। टोली बडिमालिका प्रस्थान गर्नुअघि जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरबारमा मालिकाको पूजाआजा गरिएको थियो।

बडिमालिका मन्दिर बाजुरामा पर्दछ। नेपाली सेनाको एक टुकुडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरबार मालिकालाई सलामी अर्पण गरेपछि टोलीलाई विदाई गरिएको हो।

जिल्ला प्रहरी कार्यालयभित्र रहेको बडिमालिका माई मन्दिरमा पूजाआजा गरेपछि नेपाली सेना र ससस्त्र प्रहरीद्वारा सलामी अर्पण गरिएको थियो। परम्परा अनुसार नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिकातर्फ प्रस्थान गरेको स्थानीय संस्कृतिबारे जानकार रमानन्द आचार्यले जानकारी दिए। बिहीबार प्रस्थान गरेको टोली १८ दिनको पैदल यात्रापछि बडिमालिका पुग्नेछ।

त्यहाँ पूजाआजा गरेपछि सो टोली फेरि खलंगामै फर्कनेछ। पञ्चायतकालमा अञ्‍चलाधीश कार्यालय मातहत चलिआएको यो पूजाआजाको जिम्मा अहिले जिल्ला प्रशासन कार्यालयले लिएको छ।

जुम्लाका दर्शनार्थीका अनुसार बडिमालिका माईको पूजाआजा गरेमा मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहिआएको छ। यो टोली बाजुराबाट कृष्ण अष्‍टमीको अघिल्लो दिन फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन छ। विदाई गर्न आएका स्थानीयले आफ्नो मनको ईच्छा पुरा हुने आशमा अक्षता नासो पठाउने गर्दछन्।

हजारौँको संख्यामा विदाई गर्न आएकाहरूले टोलीको यात्रा सफलताका साथै जुम्लाका सम्पुर्ण काममा सफलता मिल्ने कामना गर्ने गर्दछन्। जुम्लाबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा चढाइन्छ। www. thahakhabar.com

प्रतिकृया दिनुहोस्