RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
९०४ पटक

जाजरकोट । हरेक साताको दुई पटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाट बजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका २ पोका सोएबिन तेल खरिद गरिन् । स्थानीय पसलबाट शाहीले किनेको तेलको म्याद २०१९ अप्रिल २८ अर्थात् २०७६ वैशाख १५ गते नै सकिएको थियो । एक पोका तेल प्रयोग गरेपछि थाहा पाएकी उनले कुनै प्रतिक्रिया नदिएरै सबै प्रयोग गरिन् ।

हुम्लाको सर्केघाड गाउँपालिका–१ तुम्चका कालाखुरी मल्लले स्थानीय बटेलबाडामा भएका पसलबाट गएको शनिबार आफ्ना छोराछोरीका लागि ६ वटा बट्टा भएको एक प्याकेट फ्रुटी किनेर लगे । घर जाने बित्तिकै छोराछोरीलाई खान दिए । फ्रुटी खानेबित्तिकै उनको छोराले बान्ता गरे । लगत्तै त्यसको सोधीखोजी गर्दा बच्चाले खाएको फ्रुटीको म्याद २०१९ मार्च २९ अर्थात् २०७५ चैत १५ गते नै म्याद सकिएको रहेछ ।

जाजरकोटकी भावना र हुम्लाका कालाखुरी स्थानीय पसलबाट लामो समयअघि म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्ने निरिह उपभोक्ताका उदारहण मात्र हुन् । कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुहरू बेच्ने क्रमलाई सरकार र सम्बन्धित निकायले रोक्नेतर्फ कुनै पहल नचाल्दा प्रदेशका उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ ।

लामो समयअघि म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरु खुलेआम बिक्री गर्दा समेत जिम्मेवार निकायले खाद्य ऐन २०२३ अनुसार कारबाही गर्न नसक्दा नेपालको संविधान २०७३, खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, ०७५ ले व्यवस्था गरेको अधिकारबाटसमेत यहाँका उपभोक्ता बञ्चित हुनु परेको छ ।

आफूले पसलबाट खरिद गरेको खाद्य सामाग्रीको म्याद हेर्न नजान्ने, पसलका साहुहरूले पनि सामानको म्यादका बारेमा जानकारी नदिने र नियमनकारी निकायले पनि बजारको अनुगमनलाई नियमित नगरेकाले कर्णालीका नागरिक अखाद्य वस्तुमा परिणत भएका (म्याद सकिएका) खाद्य सामग्री प्रयोग गरिरहेका छन् ।

‘भर्खरै बजारबाट किनेका सामान पनि पुरानो हुन्छ र ? भन्दै उल्टै आश्चर्य मानेकी बारेकोट गाउँपालिका–५ जाजरकोटकी बिमी बिकले त्यसका बारेमा आफूलाई केही जानकारी नभएको स्वीकारिन् । ‘मलाई त दोकानबाट किनेर ल्याएपछि सबै सामान नयाँ नैं हुन्छ होला भन्ने लाग्छ ।’ उनले भनिन्, ‘पसलको सामानमा पनि औषधि जस्तो म्याद हुन्छ भन्ने कुरा अहिलेसम्म थाहा थिएन ।’

आफूलाई अंग्रेजीमा लेखेको म्याद हेर्न नआउने भएकाले पनि लेखिएको मिति सजिलै थाहा नपाएको उल्लेख गरेका सर्केघाड–१ हुम्लाका मल्ले सामान्य साक्षर मात्र भएकाले आफूले अंग्रेजीमा लेखिएको मिति हेर्न नसक्ने बताए । ‘नजिकबाट हेरेमा विस्तारै अक्षर चिन्न सक्छु,’ उनले भने, ‘मिति नेपालीबाट लेखेको भए हेर्न सजिलो हुने थियो । अंग्रेजीमा लेखिएको हुनाले गाउँकालाई थाहा पाउन समस्या छ ।’कर्णालीपत्र दैनिकबाट …

प्रतिकृया दिनुहोस्