
काठमाडौँ, साउन २८ गते । सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ ।
काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयहरूमा ५० प्रतिशत कर्मचारी घटाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सरकारले यसअघि नै उपत्यका प्रवेश नाकामा कडाइका साथै निजी तथा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारी कार्यालय, गैरसरकारी निकाय, सहकारी, लघुवित्त, बैङ्क तथा वित्तीय संस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संस्थाहरूले ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गर्न र बाँकी कर्मचारीलाई घरमै राखी विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्नेछ ।
कार्यालयमा ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई घरबाटै कार्यसम्पादन गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनु पर्नेछ । यस्तै मठमन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि नगर्नसमेत आग्रह गरिएको छ । चाडपर्वहरू घरभित्रै परिवारका सदस्य मात्र रहेर स्वास्थ्य मापदण्ड पालना गरी मनाउनसमेत आग्रह गरिएको छ ।
सरकारले उपत्यकाका होटल, रेस्टुरेन्टबाट प्याकेट मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको छ । होटल, रेस्टुरेन्टमा स्वास्थ्य सावधानी नअपनाइएकाले अबदेखि प्याकेट मात्र बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै भदौ १ देखि विद्यार्थी भर्नालगायत खुला गरिने भनिएका सेवाहरूसमेत भदौ १६ सम्म स्थगित गर्ने निर्णय गरिएको छ ।
त्यस्तै दैनिक उपभोग्य वस्तुलगायत पूर्वाधार विकासमा आवश्यक सामग्री आपूर्तिमा संलग्नहरूले समेत अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, खेल मैदान, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखानालगायत मानिसको भीडभाड हुने कार्यमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
भारतीय सीमामा १० नाका खुला
सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने तोकिएकाबाहेक सबै प्रवेश बिन्दु भदौ ३१ गते मध्य रातसम्मका लागि थप्ने निर्णय गरेको छ । नेपाल–भारत सीमामा १० वटा नाका मात्र खुला राख्ने निर्णय गरिएको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । प्रवक्ता डा. खतिवडाका अनुसार काँकडभिट्टा, रानी, माडर, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका मात्र खुला गरिने भएको छ ।गोरखापत्र दैनिकबाट